• १३ वैशाख २०८२, शनिबार

नेपाल सुपर लिग

ललितपुर सिटी र पोखरा थन्डर्सबिच उपाधि भिडन्त

blog

काठमाडौँ, वैशाख १३ गते । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसल) को उपाधि रक्षाबाट एक खेल टाढा छ । ललितपुरलाई लगातार उपाधि जित्न सहज भने हुने छैन । शनिबार साँझ हुने फाइनलमा ललितपुर सिटीको अगाडि लयमा रहेको पोखरा थन्डर्स हुने छ । पोखरा पहिलो पटक एनएसएल च्याम्पियन बन्ने सपना देख्दै छ । 

ललितपुर अपराजित रहँदै फाइनलमा पुगेको हो । अझ भन्नुपर्दा एनएसएलमा ललितपुर सिटीले पछिल्ला १० खेलमा हार बेहोरेको छैन । समूह चरणमा शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको ललितपुरले पहिलो क्वालिफायरमा १० खेलाडीमा सीमित भएर पनि धनगढीलाई हराएको थियो । जसले ललितपुर सिधै फाइनलमा पुग्यो । 

गत संस्करणमा ललितपुरको राउन्ड रोविनमा प्रदर्शन तलमाथि नै थियो । जुन पोखराको यस संस्करणमा रहेको छ तर ललितपुर प्लेअफमा फरक टिमका रूपमा प्रस्तुत भयो र लगातार तीन खेल जितेर च्याम्पियन बन्यो । पोखराले यसपालि ललितपुरकै सोही प्रदर्शनबाट प्रेरणा लिइरहेको छ ।

पोखराको फाइनल प्रवेश सहज थिएन । सुरुका दुई खेलमा पराजित भएपछि पोखराको समूह चरणबाटै बाहिरिने सम्भावना भएको थियो तर त्यसपछिका चार खेलमा अपराजित रहेर प्लेअफको अन्तिम चौथो स्थानमा रहेर पोखरा अगाडि बढ्यो । समूह चरणमा ललितपुरसँग पनि पोखरा पराजित भएको थियो । यसै गरी पोखरालाई समूह चरणमा हराउने अर्को टिम थियो, एफसी चितवन । पोखराले प्लेअफमा पहिलो क्वालिफायरमा एफसी चितवनलाई सहजै ३–० ले हराएर बदला लिइसकेको छ । अब पोखरा शनिबार ललितपुरसँग बदला लिएर च्याम्पियन बन्ने दाउमा छ ।

पोखराका प्रशिक्षक सुमन श्रेष्ठले ललितपुरलाई हराएर च्याम्पियन बन्न आफूले विशेष रणनीति बनाउने बताउनुभएको छ । रणनीति सफल भयो भने हामी फाइनल जित्छौँ, उहाँ भन्नुहुन्छ । प्रशिक्षक श्रेष्ठ आफ्नो टिमको राम्रो लयलाई निरन्तरता दिन मात्र आवश्यक देख्नुहुन्छ । पोखराका कप्तान नवयुग श्रेष्ठले फाइनल हो, खेल कठिन हुन्छ तर राम्रो खेलेर ट्रफी उचाल्ने छौँ, भन्नुभयो । 

ललितपुरले फाइनल खेल्नुअघि करिब एक हप्ता आराम पाएको छ । ललितपुरका विदेशी प्रशिक्षक साइमन ग्रेसनले यो समयलाई राम्रो तयारीमा प्रयोग गरेको बताउनुभयो । हाम्रो टिम राम्रो छ । फिजिकली र मेन्टली टिम फाइनलका लागि तयार छ । सबै फाइनल जित्नेमा आत्मविश्वासी पनि छन् । यद्यपि हामी अति आत्मविश्वासी भने छैनौँ । ललितपुरका कप्तान अनन्त तामाङले पनि एक हप्ताको समयले राम्रोसँग तयार हुन थप सहयोग पु¥याएको बताउनुभयो । गत वर्ष अनन्तकै प्रेरणादायी कप्तानीमा ललितपुर च्याम्पियन बनेको थियो । सो संस्करणमा अनन्त प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बन्नुभएको थियो । अनन्तले यसपालि आफ्नो टिम अझ बढी एकजुट छ भन्नुभयो ।

ललितपुरलाई फाइनलमा प्रमुख खेलाडीमध्ये एक मणि लामाको साथ पनि हुने छ । धनगढीविरुद्धको खेलमा मणिले विवादास्पद रूपमा रातो कार्ड पाउनुभएको थियो तर ललितपुरको उजुरीपछि मणि र टिममाथि अन्याय भएको भन्दै उहाँलाई कार्ड फिर्तासहित फाइनल खेल्न योग्य भएको निर्णय गरिएको छ । प्रशिक्षक ग्रेसनले मणि फर्किनु टिमको मनोबलमा ठुलो प्रभाव पार्छ भन्नुभयो ।

विजेतालाई ८० लाख रुपियाँ

तेस्रो नेपाल सुपर लिग (एनएसएल) को विजेताले ट्रफीसहित ८० लाख रुपियाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोटर्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का निर्देशक श्रेयांश कार्कीले शुक्रबार विजेताले ८० लाख र उपविजेताले ३० लाख रुपियाँ पाउने जानकारी दिनुभयो ।

यसपालि विजेतालाई १० लाखले पुरस्कार राशि वृद्धि गरिएको हो । गत संस्करणमा विजेताले ट्रफी र ७० लाख तथा उपविजेताले २० लाख रुपियाँ पाएका थिए । यसै गरी सन् २०२१ मा भएको पहिलो संस्करणमा विजेताले ३५ लाख रुपियाँ पाएको थियो ।  

यसबाहेक मोस्ट भ्यालुएबल प्लेयर, बेस्ट गोलकिपर, हाइएस्ट स्कोरर, इमर्जिङ प्लेयर र इनर्जेटिक प्लेयर अफ दी सिजन अवार्ड पनि प्रदान गरिने छ । व्यक्तिगत विधाको अवार्ड विजेता पुरस्कारको घोषणा फाइनलपछिनै हुने बताइएको छ ।