काठेखोला समाचारदाता
काठेखोला (बागलुङ), वैशाख ११ गते । जिल्ला प्रशासन कार्यालय बागलुङ ढोरपाटनमा बस्दै आएका तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले शिविरमै पुगेर ४८ जना शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो । विसं २०१६ सालदेखि ढोरपाटनमा बस्दै आएका शरणार्थीको आउँदो चैत महिनासम्मलाई परिचयपत्र नवीकरण भएको छ । नवीकरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको नेतृत्वमा कर्मचारी टोली ढोरपाटन पुगेको थियो । हरेक वर्ष शरणार्थी परिचयपत्र नवीकरण गर्ने गरिएको सहायक प्रजिअ पौडेलले बताउनुभयो ।
ढोरपाटनमा शरणार्थीका रूपमा बस्दै आएका तिब्बती शरणार्थीको सङ्ख्या पछिल्लो समय घट्दै गएको छ । सुरुका वर्षमा शरणार्थीका सयौँ घरपरिवार ढोरपाटनमा बस्ने गरेकोमा अहिले सो सङ्ख्या घटेर ४८ पुगेको छ । सहायक प्रजिअ पौडेलले बर्सेनि परिचयपत्र नवीकरण गर्ने शरणार्थीको सङ्ख्या घट्दै गएको बताउनुभयो । उहाँका अनुसार गत वर्ष ५० जनाले परिचयपत्र नवीकरण गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, “हामीले तिब्बती शरणार्थीको बस्तीमै पुगेर नवीकरण गरेका छौँ । गत वर्ष ५० जनाको नवीकरण भएको रहेछ । यस पटक ४८ जनाको नवीकरण गरिएको छ । केही बिरामी भएर पोखरा उपचारका लागि गएको भन्ने सुनियो । उहाँहरूको नवीकरण गरिएको छैन । छुटेकालाई जिल्ला प्रशासन कार्यालयमा आएर नवीकरण गर्न भनेका छौँ ।”
ढोरपाटनमा बस्ने शरणार्थीहरू व्यवसायका लागि नेपालका विभिन्न सहरमा पुग्ने गरेका छन् । उनीहरू नवीकरणको बेला आफ्नो क्याम्प रहेको ढोरपाटनमा आउने गरेको पौडेलको भनाइ छ । शरणार्थीलाई नेपालमा बस्ने अनुमतिका लागि परिचयपत्र दिइँदै आएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो चार वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ५६ जना, २०७९/८० मा ५३ जना र २०८०/८१ मा ५० र यस वर्ष ४८ जना शरणार्थीले परिचयपत्र नवीकरण गरेका छन् ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ स्थित चारगाउँ, छेन्तुङलगायतका ठाउँ तिब्बती शरणार्थीको बसोवास रहिआएको छ । अधिकांश शरणार्थी नवीकरणका लागि मात्रै ढोरपाटन आउने गरेको र अरू समय पोखरा र काठमाडौँ जस्ता ठुला सहरमा बस्दै आएको ढोरपाटन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । सरकारले ढोरपाटनमा शरणार्थी बसोबासका लागि अस्थायी जग्गा व्यवस्थापन गरिदिएको छ ।