• ९ वैशाख २०८२, मङ्गलबार

औषधीय गुण भएको महुवा सङ्कलन

blog

महुवाको रुख । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख ९ गते । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले वनमा पाइने महुवा पनि सङ्कलन गर्न थालेका छन् ।  

महुवा कैलालीस्थित विभिन्न वनमा पाइने गर्दछ । गाउँघरमा स्थानीयले विशेष गरेर सुगन्धित रक्सी बनाउनका लागि महुवा प्रयोग गर्ने गर्दछन् । होमस्टे लगायतमा यसको खपत बढी हुने गरेको छ । यसैगरी, महुवाको फूलमात्रै खानले स्वास्थ्यलाई फाइदा पनि हुने गरेको स्थानीय बताउँछन् । 

रुखबाट महुवा झर्न थालेपछि गाउँघरवासीले बटुल्न थालेको गौरीगङ्गा नगरपालिका–१० नुक्लिपुरका होमस्टे सञ्चालक दिनेश चौधरीले बताउनुभयो । “महुवा सङ्कलनको काम सुरु भइसकेको छ”, उहाँले भन्नुभयो । होमस्टेमा आउने धेरैजसो पाहुनाले महुवाको सुगन्धित रक्सीको स्वाद लिन मन पराउने गरेका बताइन्छ । गाउँघरमा पाहुनालाई पनि महुवाको रक्सी दिने चलन रहेको छ । 

महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका रुखको फूल हो । बसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ । झरेको फूललाई स्थानीयले सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गर्ने गर्दछन् । महुवा सङ्कलनको सिजन सुरु भएपछि वनमा सङ्कलकको चहलपहल बढ्ने गर्दछ । वृद्धवृद्धादेखि लिएर बालबालिकासम्म महुवा सङ्कलन गर्न विहानै वन क्षेत्र पुग्ने गरेका छन् । 

महुवा बहुगुणी वृक्ष रहेकाले यसको बारेमा विस्तृत अध्ययन गरेर आर्थिक लाभ लिन आवश्यक रहेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो । उहाँले बसन्ता वनमा महुवाको धेरै रुख रहेको जनाउँदै त्यसको संरक्षणतिर पनि ध्यान दिन आवश्यक रहेको औंल्याउनुभयो । थारु समुदायका मानिसले परापूर्व समयदेखि वनको महुवा सङ्कलन गर्ने र रक्सी बनाउने गरेको श्रेष्ठको भनाइ छ । 

महुवा एकदमै उपयोगी रुख रहेको बताइन्छ । मौरी पालन र जैविक विविधताका लागि पनि महुवा निकै महत्वपूर्ण मानिन्छ । यसलाई जडिबुटीको रुपमा प्रयोग गर्न सकिने बताइन्छ । वन अधिकृत रामविचारी ठाकुरले गाउँघरमा महुवा रक्सी बनाउनका लागि प्रयोग भइरहेको उल्लेख गर्नुभयो । उहाँले तराईका वनमा सबैतिर महुवा पाइने गरेको जनाउँदै भन्नुभयो,“यो गैरकाष्ठ प्रजाति हो । गाउँघरमा महुवाको रक्सी बनाउँछन् । अरु प्रयोगबारे खासै जानकारी छैन ।”