• ६ वैशाख २०८२, शनिबार

लाहुरे दाइको रेलिमै फेसनै राम्रो

blog

अब त जाउँ कान्छी घर

बाटो छ उकाली ओराली...

रेडियो नेपाल स्थापना हुनुअघि नै रेडियो सेटमा गुन्जिएको गीत हो, यो । नेपालका हुनेखाने र लाहुरेका रेडियोमा हुन् या भारतमा रहेका नेपाली लोकगीतप्रेमीको ओठमा गुन्जिरहने, झ्याउरे लयको यो गीत नेपाली भाषामा रेकर्ड भएको पहिलो गीत हो । धेरैलाई थाहा नहुन सक्छ, नेपाली भाषामा गीत रेकर्ड गर्ने पहिलो व्यक्ति मित्रसेन थापामगर हुन् । रेकर्ड भएका गीतका गायक पनि मित्रसेन नै हुन् । अधिकांश गीतका शब्द (सङ्कलन) र लय उनको आफ्नै हो । 

विसं २००७ चैत २० मा रेडियो नेपाल स्थापना भयो । त्यसभन्दा झन्डै १५ वर्षअघि र आजभन्दा झन्डै ८८ वर्षअघि १९९३ सालमा मित्रसेनले पन्जाबमा नेपाली भाषामा पहिलो गीत डिस्कमा रेकर्ड गराएका थिए । मित्रसेनका रेकर्ड भएका नेपाली भाषाका गीत ४० भन्दा धेरै छन् । उनको रेकर्ड भएको अन्तिम गीत ‘छत्रे टोपी ढल्काई ढल्काई खुुकुरी चम्काई...’ हो । उनीबारे खोजी कार्यमा संलग्न अध्येताका अनुसार उनका रेकर्ड नभएका ६८ भन्दा बढी गीत सङ्कलन भएका छन् । 

मित्रसेन नेपाली मूलका भारतीय स्रष्टा हुन् । आठ वर्ष सैनिक सेवा गरेका र पहिलो विश्वयुद्ध लडेका मित्रसेनले युद्ध साहित्य होइन; वैदिक सनातन धर्म, संस्कृति र नेपाली भाषा–साहित्य, गीत–सङ्गीतको जीवनभर सेवा गरे । 

मित्रसेनको पुख्र्याैली थलो नेपालको म्याग्दी जिल्लाको राखुपुल्ला हो । लेखकद्वय त्रिलोकसिंह था.म. र चन्द्रबहादुर श्रीसको संयुक्त कृति ‘मास्टर मित्रसेन र उनका सिर्जना’, काठमाडौँ : मास्टर मित्रसेन स्मृति प्रतिष्ठान, २०७० को भूमिका खण्डमा लेखक त्रिलोकसिंहले भने उनको पुख्र्याैली स्थल बागलुङ उल्लेख गरेका छन् । डा. स्वामी प्रपन्नाचार्यले मित्रसेनलाई पाल्पाका सेन मगर खानदान (स्मारिका, २०५२) लेखेका छन् । माथिका तथ्यबाट मित्रसेनका पूर्वज पाल्पा–बागलुङ–म्याग्दीका रैथाने सिँजाली थापामगर रहेछन् भन्ने थाहा हुन्छ । 

मित्रसेनका पितामह सुन्दरु थापामगर नेपाल एकीकरणकालमा नेपाली सेनामा थिए । नेपालले  विसं १८६५–६६ (सन् १८०९ ) मा का“गडा राज्यमाथि आव्रmमण गरेको थियो । त्यो आव्रmमणकारी नेपाली फौजमा सुन्दरु पनि थिए । युद्धकै बिच राजा संसार चन्दले सुटुक्क पन्जाबका राजा रणजितसिंहसमक्ष सहयोग मागे र अन्ततः सन् १८०९ अगस्ट २४ पछि काँगडा रणजितसिंहको अधीनमा आयो । त्यो युद्धपछि धेरै नेपाली सैनिक तितरबितर भए । त्यसैबेलाबाट सुन्दरु थापामगरलगायत केही नेपाली युवा काँगडाको भाक्सु धर्मशाला इलाकाको थुम्कीआसपास स्थानीय युवतीसँग विवाह गरेर बसोबास गर्न थाले । 

अंग्रेजले सन् १८१५ मा भारतमा नेपाली मूलका युवा समावेश गरेर चार पल्टन स्थापना गरेपछि सुन्दरु थापामगर ब्रिटिस अधीनस्थ भारतस्थित सिरमौर बटालियनमा पनि सहभागी भए । मित्रसेनका बुवाको नाम मनवीर सेन थापामगर र माताको नाम राधा हो । मनवीरले पनि पल्टनको हवलदार पदबाट पेन्सनमा राजीनामा गरेपछि केही समयमै ब्यारेकमै निर्माणसम्बन्धी विभाग, एमइएसमा ठेक्काको काम गरे । 

भाक्सु धर्मशालाको तोतारानी गाउँमा तीन दिदीपछि सन् १८९५ मा मित्रसेन थापामगरको जन्म भयो । मित्रसेनले घरमै नेपाली र अंग्रेजी वर्णमाला सिके । आठ वर्षको उमेरमा भाक्सु धर्मशालाको स्थानीय विद्यालयमा भर्ना भएर कक्षा ८ सम्म अध्ययन गरे । 

८ कक्षा पढ्दै गर्दा सन् १९११ मा विवाह भएपछि अध्ययन छाडे ।

सन् १८३९ मा रणजितसिंहको निधन भयो । सन् १८४९ मा पन्जाब र त्यस अधीन गरेको भूभाग अंग्रेजको कब्जामा गयो । काँगडा अंग्रेज अधीनस्थ भए पनि पन्जाबी प्रभाव थियो । त्यसबेला काँगडामा सञ्चालित विद्यालयमा उर्दु भाषामा पढाइ हुन्थ्यो । गणित, इतिहास, भूगोल, विज्ञान, चित्रकला जस्ता विषय थिए । मित्रसेन सानै उमेरदेखि लय हालेर गीत गाउन सक्थे । गीतसङ्गीतमा उनको विशेष रुचि थियो । बाल्यावस्थादेखि नै मित्रसेन धर्मशालानजिकका सहरमा हुने धार्मिक भजनकीर्तन, कथा, पुराण, रासलीला, रामलीला जस्ता कार्यव्रmममा चाख लिन्थे, भाग लिन्थे ।  

सन् १९१२ मा मित्रसेन भारतस्थित अंग्रेज सेनाको १÷१ गोर्खा राइफल्सको सिग्नलमा भर्ती भए । यो पल्टन मित्रसेनका हजुरबुवा सुन्दरु कार्यरत पल्टन थियो । उनको पल्टन व्यक्तिगत नं. २२९७ हो । सैन्य तालिमपछि मित्रसेन सन् १९१४–१८ सम्म चलेको पहिलो विश्वयुद्धका व्रmममा सन् १९१४ मा फ्रान्समा खटिए । एक वर्ष फ्रान्सका विभिन्न मोर्चामा लडे । त्यसपछि पहिलो विश्वयुद्धमा बेलायतले १६–१८ सम्म तीन वर्ष टर्कीस“ग गरेको युद्धमा सहभागी भए । 


मास्टर मित्रसेनको हस्तलिखित गीत स्रोत : मास्टर मित्रसेन र उनका सिर्जना, त्रिलोकसिंह था.म. र चन्द्रबहादुर श्रीस 


मित्रसेनको पल्टन सन् १९२० मा भारत फिर्ता हुँदा पिताको मृत्यु भइसकेको थियो । आमाले घरमै ससानो व्यापार गरेकी थिइन् । श्रीमतीले बालबच्चा हुर्काउँदै केही घरपालुवा पशु पालेकी थिइन् । 

पुर्खाको देश नेपालबाट टाढा बस्नु परेको, विदेशमा रहेर बाबुबाजेले अँगालेको सैनिक पेसामा रह“दा अरू देशका लागि जीवन समर्पण गर्न सधैँ तयार हुनुपर्ने अवस्थाबाट दिक्क भएर पेन्सन नभए पनि मित्रसेनले आठ वर्ष लामो सैनिक सेवाबाट राजीनामा दिए । मित्रसेनको जीवनमा तीन आठको संयोग छ– आठ वर्षको उमेरमा विद्यालय भर्ना, कक्षा ८ सम्म अध्ययन र सेनामा आठ वर्ष कार्यरत । 

मित्रसेनले पेन्सनको लोभमा अरू देशको भूमि बढाउन र यश फैलाउन, आफ्नो जीवन बलिदान गर्न उपयुक्त देखेनन्, त्यसैले सैनिक सेवा छाडे । घरपरिवारको आवश्यकता पूरा गर्न भने उनलाई आर्थिक अभावले पिरोल्न थाल्यो । सन् १९२१ बाट उनले एक हितैषी साथीको सहयोगमा सैनिक ब्यारेकमा क्यान्टिन चलाउन थाले । ब्यारेकको क्यान्टिनका लागि सामान खरिद गर्न पन्जाबको अमृतसर, लाहोर जस्ता ठुला सहर जाँदा उनले त्यहा“ नाटक हेर्ने, शास्त्रीय सङ्गीत सिक्ने जस्ता काम जारी राखे । घरमा पनि गीतसङ्गीतको नियमित अभ्यास गरिरहे । 

मित्रसेनका तीन छोरी र एक छोरा थिए । सन् १९२३–२४ मा भाक्सु इलाकामा हैजाको महामारी फैलिँदा उनका श्रीमती र चार सन्तान बिते । घरमा उनी र वृद्ध आमा मात्र बा“की रहे । सन् १९२५ मा लाजवन्ती थापास“ग उनले दोस्रो विवाह गरे । सन् १९२६ मा मित्रसेनले ‘हिमालयन थिएट्रिकल कम्पनी’ स्थापना गरे । अब उनले गीत, सङ्गीत, नाटकतर्फ बढी ध्यान दिन थाले । यही वर्ष मित्रसेनको छोराको जन्म भयो । उनको नाम दिग्विजयसेन थापामगर राखियो ।

नाटक मञ्चन र मास्टर उपाधि

दोस्रो विवाहपछि मित्रसेनले ‘विल्लवामङ्गल’ (सुरदास) नामको नाटकलाई हिन्दी र उर्दु मिसाएर हिन्दुस्तानी भाषामा तयार पारी विधिवत् रङ्गमञ्च कला प्रदर्शनी गरे । श्रीकृष्णको बाललीलाबाट प्रभावित भएर तयार पारिएको उक्त नाटकका रचयिता, निर्देशक, सङ्गीत, नृत्य निर्देशक, निर्माता र सम्भाषण, प्रमुख अभिनेता, गायक मित्रसेन आफैँ थिए । यो नाटक राम्ररी चल्यो र धेरै चर्चा कमायो । यही नाटकले उनलाई ‘मास्टर’ उपाधि दिलायो । अब उनी ‘मास्टर मित्रसेन’ नामले प्रख्यात भए ।

यसपछि उनले पन्जाबमा प्रचलित लोककथामा आधारित ‘हीर–राँझा’ र ‘सोहनी–महिवाल’ जस्ता दुःखान्त प्रेम नाटक मञ्चन गरे । यी नाटकको बिच बिचमा पन्जाबी लोकगीत र लोकनृत्य समावेश थिए । मित्रसेनका यी नाटकलाई पनि दर्शकले धेरै मन पराए । मित्रसेनले ‘दर्दे जीगर’, ‘नुरकी पुतली’, ‘मसरकी हुर’, ‘बादशाह टावर’ जस्ता उर्दु भाषाका नाटक प्रदर्शन गरे । करुण रस र हा“स्य रसप्रधान उनका नाटकले समाजमा राम्रो चर्चा कमायो । भाक्सु छाउनी, धर्मशाला सहर, पालमपुर, का“गडा, शाहपुर, कोटला, नुरपुर, पठानकोट, गुरदासपुर, बटला जस्ता सहर र बस्तीमा हप्ताभरि मित्रसेनका नाटक चल्दथे । यसबाट मित्रसेनको ख्याति बढ्दै गयो । आजको जस्तो आधुनिक चलचित्र घर बनिनसकेको त्यसबेला भारतका सानाठुला सहरमा नाटक नै मनोरञ्जनको साधन थियो ।     

मास्टर मित्रसेन आफ्नो पुख्र्याैली थलो नेपाललाई औधी माया गर्थे । नेपालबाट भारतस्थित बेलायती सेनामा भर्ती भएका जुनसुकै जात, थलोका मानिसलाई उनी सक्दो सहयोग गर्थे । मित्रसेनले पहिलो पटक विसं १९९० तिर नेपाल आएर नेपालको पाल्पा, तानसेन, रिडी, गुल्मी, पोखरा, बागलुङ, लमजुङ, गोरखा, नुवाकोटको भ्रमण गरी यहाँका लोकलय, परम्परा, रहनसहन बुझेर लोकगीत सङ्कलन गरे । 

खगेन शर्मा (नेपाली सङ्गीतका भानुभक्त मास्टर मित्रसेन थापा, भारत ः सिक्किम, निर्माण प्रकासन, २००९, पृ. १–६) का अनुसार विसं १९९० तिर मित्रसेन नेपाल आएका थिए । त्यसबेलाका श्री ३ तथा प्रधानमन्त्री जुद्धशमशेर जबरालाई झ्याउरे र लोकलयमा गीत सुनाए । जुद्धशमशेर खुसी भएर केही नगद इनाम दिए । सोही रकमबाट उनले भारत फर्केर नेपाली भाषामा गीत रेकर्ड गराए । 

मित्रसेनमा नेपाली भाषा, संस्कृति, लोकलय, लोकगीतप्रति अगाध आस्था र श्रद्धा थियो । उनमा नेपालप्रति अगाध माया थियो । सन् १९३२ ताका उनले ‘वीर अभिमन्यू’, ‘परिवर्तन’ र ‘यहुदीको बेटी’ सहित तीन नाटक तयार पारेर मञ्चन गरे । सन् १९३३ पछि धर्मप्रचार, समाजसेवा, देशसेवाका साथै साहित्य सिर्जना र सामाजिक सेवामा आफूलाई समर्पण गरेका मित्रसेन सूर्यविव्रmम ज्ञवाली, धरणीधर शर्मा कोइराला, पारसमणि प्रधानलाई प्रेरणास्रोत मान्दथे । 

मित्रसेन सन् १९३६ को महाशिवरात्रिमा दोस्रो पटक काठमाडौँ आएर लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण समस“ग भेटे । त्यसबेला उनले काठमाडौँ, ललितपुर र भक्तपुरका धेरै स्थानमा पुगेर धार्मिक भजन, कीर्तन, लोकगीत प्रस्तुत गरी धेरै प्रशंसा पाएका थिए । मित्रसेन सन् १९३७ मा राजा महेन्द्रवीरविव्रmम शाहको जन्मोत्सवको उपलक्ष्यमा सांस्कृतिक टोलीको नेतृत्व गरेर तेस्रो पटक काठमाडौँ आए । 

देहावसान 

पारिवारिक बिछोडबाट विक्षिप्त मित्रसेन दोस्रो विवाहबाट समालिने प्रयासमा थिए । निरन्तर गीत, सङ्गीत, भजन, कीर्तन, नाटक र साहित्यिक काम, सामाजिक सेवामा लागिपरेको ह“ुदा उनको स्वास्थ्य अवस्था कमजोर थियो । ९ अप्रिल सन् १९४६ को रामनवमीका दिन ५१ वर्षको उमेरमा उनको देहावसान भयो । 

मित्रसेनका ‘समयको डायरी–१९९४’ र ‘मगन पथिक–१९८८’ गद्यसङ्ग्रह प्रकाशित छन् । उनका ‘बुद्धवाणी’, ‘गीता’, ‘हितका कुरा’, ‘कृतज्ञता’, ‘अभिमान निषेध’, ‘प्रेम’, ‘सुशीलता’, ‘समयको उपयोगिता’ जस्ता लेख प्रकाशित छन् । उनले ‘तीन साधु’, ‘तीर्थयात्रा’, ‘तीन कुरा’ लगायत कथा अनुवाद गरी प्रकाशन गरेका थिए ।

विसं २०७० मा मित्रसेनको नाममा काठमाडौँमा ‘मास्टर मित्रसेन स्मृति प्रतिष्ठान’ स्थापना भएको थियो । भारत, काँगडा, भाक्सुमा ‘मास्टर मित्रसेन साहित्य सङ्गीत सभा’ स्थापना भएको छ । मास्टर मित्रसेनको योगदानको कदर गरी नेपाल र भारत सरकारले हुलाक टिकट प्रकाशन गरेका छन् ।

लेखक मगन पथिकलिखित ‘भारतीय साहित्यका निर्माता ः मित्रसेन’ नामक पुस्तक भारतको प्रतिष्ठित संस्था  ‘साहित्य अकादेमी’ ले सन् १९८९ मा पहिलो र १९९४ मा दोस्रो संस्करण प्रकाशन गरेको छ । मास्टर मित्रसेन थापामगरका जीवनवृत्त र उनका सिर्जनाका बारेमा नेपालको त्रिभुवन विश्वविद्यालयबाट खगेन शर्मा र भारतको कुरुक्षेत्र विश्वविद्यालयबाट राजेन्द्र गुरुङले विद्यावारिधि गरेका छन् । 

अन्त्यमा

उनका गीत, सङ्गीत र समग्र अभियानबाट भारतमा रोजगारीका लागि गएका नेपालीमा देशभक्ति जागृत भएको थियो । उनीहरूमा देशको धर्म, संस्कृति र समाजप्रति आस्था प्रस्फुटन भएको थियो । लेखक जगतबहादुर जोशीका अनुसार मास्टर मित्रसेनका गतिविधि पाल्पामा विसं २००७ को राणाविरोधी जनव्रmान्तिका खातिर जनतालाई सुशिक्षित तुल्याउने ऊर्जा थिए ।

मित्रसेनबारे नेपाल र भारतमा धेरै चर्चा र प्रशंसा भइरहन्छ । कुनै समय सिपाही पदमा सेवा गरेका मित्रसेन भारत, नेपाल र नेपालीभाषी पुगेका अन्य देशमा समेत सम्मानित छन् । सानो कदका तर ठुलो योगदानकर्ता मास्टर मित्रसेन खासमा नेपाल र नेपालीले बिर्सन नसक्ने स्रष्टा हुन् । नेपाली लोकलयका पारखीले सायदै बिर्सेलान् यी लाहुरेको गीत–

लाहुरे दाइको रेलिमै फेसनै राम्रो

रातो रुमाल रेलिमै खुकुरी भिरेको