• ३ कात्तिक २०८२, सोमबार

मर्यादित रूपमा चाडपर्व मनाउन प्रशासनको पाँच बुँदे निर्देशन

blog

जिल्ला प्रशासन कार्यालय सप्तरी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक ३ गते ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शुभ दीपावली (तिहार), नेपाल संवत र छठ पर्वलाई आपसी सद्भाव, सौहार्द र मर्यादित तवरले मनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ ।

सो कार्यालयले एक सूचना जारी गर्दै पर्वको अवसरमा सम्भावित जोखिम र अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्न यस्तो निर्देशन सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलद्वारा जारी सूचनामा चाडपर्वका समयमा विस्फोटक तथा ज्वलनशील वस्तुहरूको प्रयोग, ओसारपसार र बिक्री वितरण पूर्ण रूपमा निषेध गरिएको भनिएको छ । भूइचम्पा, पटाका, आतिशबाजी जस्ता वस्तुहरूको प्रयोगले आगलागी वा जनधनको क्षति हुन सक्ने भन्दै यस्ता क्रियाकलापमा संलग्नलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

त्यस्तै, देउसी–भैलोका कार्यक्रमहरू बेलुका ८ बजेपछि सञ्चालन गर्न नपाइने जनाएको छ । प्रशासनले सांस्कृतिक परम्पराको सम्मान गर्दै मर्यादित समयमा मात्रै कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । साथै, तिहार र छठ पर्वमा प्रयोग हुने प्लास्टिकजन्य फूल गुच्छा आयात, निर्यात, बिक्री वितरण वा भण्डारण नगर्न पनि कार्यालयले अनुरोध गर्दै पर्यावरणीय प्रदूषण न्यूनीकरणका लागि यस्तो कदम चालिएको जनाइएको छ ।

त्यसैगरी, चिठ्ठा, जुवा, तास, लङ्गुरबुर्जा लगायतका जुवातासका खेल खेल्ने र खेलाउने कार्यमा संलग्न नहुन र नगराउन आग्रह गरिएको छ । यस्ता कार्यले सामाजिक बिग्रह निम्त्याउने भएकाले नियन्त्रणमा लिन प्रशासन सचेत रहेको सूचनामा उल्लेख गरिएको छ ।

मादक पदार्थ सेवन गरी हो–हल्ला, झगडा तथा शान्ति सुरक्षा खल्बलाउने गतिविधि भएको खण्डमा समेत कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ । प्रमुख जिल्ला अधिकारी पोख्रेलले चाडपर्वलाई सभ्य, शान्त र मर्यादित तवरले मनाइ समुदायमा आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्न आग्रह गर्नुभएको छ ।