• ३ कात्तिक २०८२, सोमबार

चुरेभेगका बस्तीमा यातायात सञ्चालन

blog

सर्लाहीको लालबन्दी बजारबाट चुरेवर्ती पिपलदमारसम्म सञ्चालनमा आएको बोलेरो । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक ३ गते । सर्लाहीको चुरेवर्ती सबै भेगमा यातायातका साधन सञ्चालनमा आएका छन् । दसैँको समयमा अविरल वर्षा हुँदा खोलामा बाढी आएर पैदल हिँड्नसमेत सास्ती खेपेका चुरेवर्ती क्षेत्रका स्थानीयलाई अहिले भने बस, बोलेरो, ट्याक्टर, मोटरसाइकललगायत सवारीसाधन सञ्चालन हुन थालेपछि सहज भएको छ । सडक सञ्जालमा नजोडिएको चुरेवर्ती क्षेत्रमा खोलाको बगरबाट बाटो बनाएपछि यातायातका साधन सञ्चालन गर्न सम्भव भएको हो । 

दसैँअघि बस व्यवसायी आफैँले मर्मत गरेको खोलाको बाटो बाढी आएर बगाएको थियो । पानी पर्न रोकिएसँगै व्यवसायीले पुनः जेसिबी प्रयोग गरेर खेलामा बाटो बनाएपछि चुरे भेगमा यातायातका साधन सञ्चालनमा आएका हुन् । लालबन्दी नगरपालिकाको वडा नं. १४ र १५ तथा ईश्वरपुर नगरपालिकाको वडा नं. १२ को चुरेवर्ती क्षेत्रमा हालसम्म सडक पुगेको छैन । 

लालबन्दी १४ मा लखन्देही र डाइनी खोला, लालबन्दी १५ मा कालिन्जोर र फूलजोर खोला तथा ईश्वरपुर १२ मा बाँके खेलाको बगर भएर हिउँदका महिना गाडी सञ्चालन हुने गरेका छन् । चुरेवर्ती क्षेत्रका स्थानीयको दैनिक उपभोग्य वस्तु किन्न र बिरामी हुँदा उपचार गर्न आउने ठाउँ लालबन्दी बजार हो । 

तिहारको समयमा चुरेवर्ती क्षेत्रबाट सञ्चालन हुन थालेका प्रत्येक जसो सवारीमा यात्रुको चाप अत्यधिक देखिन्छ । स्थानीयले त्यही सवारीसाधनमै आफूलाई आवश्यक परेको खाद्यान्न खरिद गरेर लैजाने गरेका छन् । ईश्वरपुर नगरपालिका–१२, पिपलदमारका बलिमराज वाइवाले गाउँबाट लालबन्दी बजारसम्म तीन वटा बोलेरो सञ्चालन हुन थालेको जानकारी दिनुभयो । अन्य विकल्प नभएकाले स्थानीय बासिन्दा खोलाको कच्ची बाटोमा जोखिमपूर्ण किसिमले बोलेरो चढेर लालबन्दी बजार आउजाउ गर्ने गरेका छन् । 

स्थानीयवासी वाइवाका अनुसार वर्षा रोकिएर खोलामा बाढी आउन छाडेपछि पिपलदमार क्षेत्रबाट सिन्धुलीको मरिणतर्फ एउटा यात्रुबाहक बस र लालबन्दी बजारसम्म बोलेरो सञ्चालन हुन थालेका छन् । यस्तै बस व्यवसायी कर्ण घिसिङका अनुसार लालबन्दी बजारबाट लालबन्दी १५ को बोहोरे गाङ्ग, शिर कालिन्जोर, बडीमुहान हुँदै सिन्धुलीको मरिणछापसम्म बस सञ्चालन हुन थालेका छन् । 

बस व्यवसायीकै खर्चमा चुरेको पाखा तथा खोलाको बगरमा बाटो निर्माण गरी बस सञ्चालन गरिएको घिसिङले बताउनुभयो । जिल्लाकै दुर्गम मानिने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा अहिले आठ वटा बस सञ्चालन भइरहेका छन् । 

बस व्यवसायी तथा वडाध्यक्ष छेनामसिंह घिसिङले आठवटामध्ये लालबन्दी बजारबाट पालैपालो दैनिक तीन वटा बस सिन्धुलीको मरिणसम्म पुगिरहेको जानकारी दिनुभयो । बाढी आउन छाडेपछि चुरे भेगमा गर्भवती र अन्य गम्भीर प्रकृतिका बिरामीलाई लिन एम्बुलेन्ससमेत पुग्न थालेका छन् । 

नारायणखोलास्थित जनसेवा प्राथमिक विद्यालय सत्रकट्ठ ाका प्रधानाध्यापक उत्तरकुमार गुर्मछानले भौगोलिक विकटताका कारण अनेक समस्या र सास्ती रहे पनि हिउँदमा खोलाबाटै भए पनि यातायातका साधन सञ्चालन हुँदा स्थानीयलाई केही मात्रामा राहत मिल्ने गरेको बताउनुभयो । 

सर्लाहीको विभिन्न खोलाका बगर भएर सिन्धुलीको मरिणसम्म बस सञ्चालन हुन थालेसँगै मरिण क्षेत्रका स्थानीयसमेत किनमेलका लागि लालबन्दी बजार आउन थालेका छन् । सर्लाहीको चुरेभेग र सिन्धुलीको मरिणसम्मका स्थानीय किनमेल गर्न आउन थालेपछि लालबन्दी बजारमा खाद्यान्न, कपडासहितका सरसामग्रीको व्यापारमा टेवा पुगेको छ । 

गाडी सञ्चालन हुन थालेपछि चुरेको विकट क्षेत्रमा उत्पादन भएका कृषि उपज, खसीबोकालगायतका सरसामग्री लालबन्दी बजारमा ल्याएर बिव्रmी गर्न सहज भएको स्थानीयले बताएका छन् । हरिवन–क्यानेश्वर सडक हुँदै सिन्धुलीको हरिहरपुरगढी र बागमती–पिपलमाडी सडक भएर सिन्धुलीको हरिहरपुरगढी तथा मकवानपुरको बागमती गाउँपालिका क्षेत्रमा पनि बस तथा अन्य सवारीसाधन नियमित सञ्चालन भइरहेका छन् ।