• ६ जेठ २०८१, आइतबार

हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ : सांसद चौधरी

blog

काठमाडौं, जेठ २३ गते । नेकपा (एमाले)का सांसद गङ्गा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफल भाग लिनुहुँदै सांसद चौधरीले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राख्नुभएको हो ।

‘‘मन मिलेसम्म ‘लभ’ को संज्ञा दिने, मन नमिलेपछि ‘रेप’को संज्ञा दिने ? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो उहाँबारे कसैलाई पत्तो थिएन । जस स्वार्थ मिलेन बलात्कारको संज्ञा दिएर छ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नुहुँदैन ।’’ उहाँले भन्नुभयो ।

उहाँले हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने पनि बताउनुभयो ।

‘‘हदम्यादको कुरा धेरै उठिरहेको छ । हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ अनि न्याय कसरी पाउँछन् ?,’’ उहाँले भन्नेभयो, ‘‘यो कुरा हेर्न जरुरी छ । महिला भएर महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म सांसद हो देशको लागि कानुन निर्माण गर्न आएका छौं ।’’