• ३१ चैत २०८१, आइतबार

आन्दोलन शिष्ट, माग विशिष्ट

blog

आफैँले गरेको फोहोर सङ्कलन गर्दै आन्दोलनरत शिक्षक ।

काठमाडौँ, चैत ३० गते । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र त्यसमा पेसागत सुरक्षा सुनिश्चित हुनुपर्ने माग गर्दै सामुदायिक विद्यालयका शिक्षक चैत २० गतेदेखि राजधानीकेन्द्रित आन्दोलनमा छन् । सधैँ कक्षाकोठामा विद्यार्थीलाई नयाँ कुरा सिकाइरहेका शिक्षकले आन्दोलनमार्फत केही नयाँ सन्देश पनि प्रवाह गरिरहेका छन् । 

उनीहरूको अहिलेको सडक आन्दोलन रचनात्मक मात्रै छैन, स्वनियमले समेत बाँधिएको छ । १० औँ दिनसम्म आइपुग्दा पनि उनीहरूको आन्दोलन शान्त र अनुशासित रूपमा नै चलिरहेको छ । हरेक दिन शिक्षक बिहान ११ बजे बानेश्वर तथा बबरमहल क्षेत्रमा भेला भएर दिउँसो ३ बजेको आसपासमा छुटने गर्छन् । 

आन्दोलनमा प्रयोग भएका प्लेकार्ड, ब्यानर, कागजका टुव्रmा तथा पानीका बोतललगायतका सामग्री आन्दोलन सकिएपछि शिक्षकहरूले आफैँ टिपेर बोरामा कोच्ने गरेका छन् भने सडक वरपरका बगैँचाका बोटबिरुवाको समेत आफैँ जतन गर्ने गरेका छन् । 

आन्दोलन स्थलमा भेटिनुभएका त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षकहरूले कक्षाकोठामा विद्यार्थीलाई नयाँ कुरा सिकाए जस्तै आन्दोलन पनि बिना तोडफोड सभ्य र शान्त तरिकाबाट सम्पन्न गर्न सकिन्छ भन्ने ज्ञान आफूहरूको आन्दोलनले दिएको बताउनुभयो । 

आन्दोलनलाई रोमाञ्चक बनाउन सडकमै सुत्ने, सिट्टी फुक्ने, टर्च लाइट बालेर शिक्षा ऐन खोज्नेलगायतका नयाँ नयाँ व्रिmयाकलाप शिक्षकहरूले गरिरहेका छन् । आन्दोलनमा नारा जुलुसबाट थाकेका शिक्षक समय बिताउन आफैँ नाचगान गरेर रमाउने गरेका छन् भने केही शिक्षकले जादु प्रदर्शन, कविता वाचन, नृत्य तथा अन्य रचनात्मक व्रिmयाकलापबाट उपस्थित अन्यलाई मनोरञ्जन दिलाइरहेका छन् । 

मुलुकभरबाट आएका केही शिक्षक भने आन्दोलन सकिएपछि धरहरा चढेर रमाउने तथा काठमाडौँका अन्य स्थानको भ्रमण, किनबेचलगायतमा व्यस्त रहने गरेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा आन्दोलन भए पनि त्यसमा विभिन्न दल निकट रहेका शिक्षकका अन्य सङ्गठनले पनि समन्वय गरिरहेका छन् । 

शिक्षक महासङ्घ गठन नभएका कतिपय जिल्ला तथा स्थानीय तहमा व्रिmयाशील शिक्षकका अन्य सङ्गठनले आन्दोलनमा उपस्थित भएका वा नभएका शिक्षकको अभिलेख हाजिरपुस्तिका नै बनाएर राख्ने गरेका छन् । धादिङको एक स्थानीय तहबाट आन्दोलनमा उपस्थित हुनुभएका नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका एक पदाधिकारीले भन्नुभयो, “आन्दोलनमा आएर पनि भिडका कारण सम्बन्धित ठाउँमा उपस्थित भएर हाजिर जनाउन नसकेका शिक्षकले फोन गरेर तथा आन्दोलन स्थलको फोटो पठाएर आफू आन्दोलनमा सरिक भएको प्रमाण सङ्गठनका पदाधिकारीसमक्ष पेस गर्ने गरेका छन् ।” शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर शिक्षकले आन्दोलन गरेका हुन् तर १० औँ दिनसम्म आन्दोलनमै सरिक भइरहँदा विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन, माध्यमिक शिक्षा  (एसइई) को उत्तरपुस्तिका परीक्षणलगायतका काम रोकिएका छन् । यसको असरका कारण एसइईको नतिजा प्रकाशनमा विलम्ब हुने पक्का भइसकेको छ । 

साथै निजी विद्यालयमा नयाँ विद्यार्थी भर्ना धमाधम भइरहे पनि सुनसान सरकारी विद्यालयमा अझै विद्यार्थी घट्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । साथै दिनहुँ जसो सडक छेकेर गरिने यस्ता प्रदर्शनका कारण सवारी आवागमन ठुलो समस्या देखिएको छ । २०८० असोजमा पनि शिक्षकहरूले राजधानीकेन्द्रित आन्दोलन गरेपछि सरकारसँग छबुँदे सहमति भएको थियो तर  अझै कार्यान्वयन भएको छैन 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।