लक्ष्मी चौधरी
जनकपुरधाम, चैत २५ गते । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार (भोली) मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नुभएको छ । उहाँले मधेश प्रदेश सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
सभामुख रामचन्द्र मण्डलका अनुसार प्रधानमन्त्री ओली मङ्गलबार बिहान ११स्०० बजे जनकपुरधाम आइपुग्नुहुनेछ र त्यसपछि प्रदेश सभालाई सम्बोधन गर्नुहुनेछ । सम्बोधन पश्चात प्रधानमन्त्री ओली सोही दिन सिराहा प्रस्थान गर्ने कार्यक्रम रहेको छ, जहाँ उहाँ नेकपा (एमाले) को जिल्ला अधिवेशनमा सहभागी हुनुहुने छ ।
प्रधानमन्त्रीको आगमनलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रधानमन्त्री ओली चढेको हेलिकाेप्टर जनकपुरधाम विमानस्थलमा अवतरण गर्ने छ र प्रदेश सभा सम्बोधनपछि त्यहीँबाट सिराहाका लागि प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ ।
मधेशमा पछिल्लो समय राजनीतिक बहस, सङ्घीयता कार्यान्वयनको चुनौती र विकास निर्माणका कामको गति सुस्ताएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणले नयाँ सन्देश दिने अपेक्षा समेत गरिएको छ । मधेश प्रदेश सभामा दश दलको प्रतिनिधित्वमा १०७ प्रदेश सभा सदस्य रहेका छन् ।