• २५ चैत २०८१, सोमबार

दक्षिणपूर्वी एसिया अमेरिकी करविरुद्ध ‘दृढ रहनुपर्छ’ : मलेसियाका प्रधानमन्त्री

blog

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम ।

क्वालालम्पुर, चैत २५ गते । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार दक्षिणपूर्वी एसियाली देशहरूलाई अमेरिकी करबाट सबैभन्दा बढी प्रभावित भएपछि ‘दृढ भएर उभिन’ आह्वान गर्नुभएको छ । गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मित्र र शत्रुहरू विरुद्ध लगाइएको व्यापक भन्सार शुल्कले सेयर बजार र विश्वभरका सरकारहरूलाई चिन्तित बनाएको छ ।

“हामी ६४ करोड जनसङ्ख्या र विश्वको शीर्ष आर्थिक शक्ति भएको आसियानका रूपमा दृढ भएर उभिनुपर्छ”, प्रधानमन्त्री विभागको कर्मचारी बैठकमा अनवरले भन्नुभयो । दक्षिण पूर्व एसियाली आर्थिक मन्त्रीहरूले बिहीबार भन्सार महसुलबारे छलफल गर्न एक बैठक आयोजना गर्दै छन् ।

अनवरले भन्नुभयो, “मेरो सरकारको काम आसियानमा हाम्रा साथीहरूसँग सम्पर्क गर्नु थियो ताकि प्रत्येक देशले आफ्नो स्थिति बताउन सकुन्, तर एकै समयमा, हामी एक समूहको रूपमा सँगै जान्छौँ ।” मलेसिया यस वर्ष १० सदस्यीय दक्षिण पूर्व एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को अध्यक्षताको पालोमा रहेको छ ।

विनिर्माण शक्ति भियतनाममाथि अमेरिकामा निर्यात गर्ने वस्तुहरूमा ४६ प्रतिशत भन्सार महसुल लगाइएको छ भने ठुला पश्चिमी ब्रान्डहरूका लागि कम लागतको कपडाको प्रमुख उत्पादक छिमेकी कम्बोडियामाथि ४९ प्रतिशत भन्सार शुल्क लगाइएको छ । दक्षिण पूर्व एसियाको तेस्रो ठुलो अर्थतन्त्र मलेसियामाथि २४ प्रतिशतको कम भन्सार महसुल लगाइएको छ ।

अन्य आसियान सदस्यहरू जस्तै क्वालालम्पुरले अमेरिकी सामानहरूमा ४७ प्रतिशत भन्सार महसुल लगाउँछ भन्ने वासिङ्टनको दाबीलाई खण्डन गरे पनि संयुक्त राज्य अमेरिका विरुद्ध प्रतिकारात्मक कारबाही नगर्ने बताएको छ । “म सोच्छु कि दुई गलतले एउटा सही बनाउँदैनन्”, मलेसियाका व्यापारमन्त्री तेङ्कु जाफरुल अजिजले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “शान्त रहनु महत्त्वपूर्ण छ, किनभने व्यापार युद्धमा परिणत हुने कुनै पनि कुरा विश्व अर्थतन्त्रको हितमा छैन ।” रासस/एएफपी