• २५ चैत २०८१, सोमबार

बैतडीमा पहिलो पटक नगरबस सञ्चालन

blog

दशरथचन्द नगरपालिकाले सञ्चानमा ल्याएको नगरबस । तस्बिर : गोरखापत्र

गोकर्ण दयाल  

बैतडी, चैत २५ गते । बैतडीमा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस सञ्चालनमा ल्याएको हो । 

आइतबार नगरपालिकाको तेश्रो स्थापना दिवस तथा २९औं वार्षिकोत्सवका अवसरमा नगर प्रमुख पुष्करराज जोशी (लख्खाभइ) आफैले बस चलाएर उद्घाटन गर्नुभयो । ४९ लाख रुपियाँमा खरिद गरिएको ३२ जनाको सिट क्षमता रहेको नगरबसमा सिसी क्यामेरा, वाईफाई, पङ्खा र जिपिएस जडान गरिएको छ ।    

वि.सं.२०५४ साल चैत २४ गते स्थापना भएको दशरथचन्द नगरपालिका देशका पुराना ५८ नगरपालिका मध्ये एक हो । स्थानीय तहको दोश्रो निर्वाचन २०७९ सालमा पुष्करराज जोशी नगरबस सञ्चालन गर्ने चुनावी घोषणापत्र लिएर निर्वाचित हुनुभएको थियो । 

जनतासँग गरेको चुनावी बाँचा अनुसार नगरबस सञ्चालनमा ल्याउँन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । कार्यविधि बनाएर नगरबस पञ्चालनमा ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । बैतडीमा दशरथचन्द नगरपालिकासहित चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । यी मध्ये दशरथचन्दले पहिलो पटक नगरबस सञ्चालन गरेको छ । 

नगरबस सेवाको औपचारिक रूपमा उद्घाटन भए पनि नयाँ वर्षदेखि नियमित रूपमा सेवा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो,“सतबाँझ चौराहबाट झुलाघाट नाकासम्म बस सञ्चालन हुने छ । 

नगरबस सञ्चालन हुँदा भारतबाट त्रिपुरासुन्दरी र निङलासैनी मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकलाईसमेत सहज हुने छ । भारतको पिथौरागडबाट बर्सेनि हजारौं तिर्थालु नेपालका मठमन्दिरको दर्शनका लागि आउने गरेका छन् ।