गोकर्ण दयाल
बैतडी, चैत २५ गते । नयाँ शैक्षिक सत्रमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १७ लाख पाठ्यपुस्तक बिक्री गर्ने लक्ष राखेर प्रदेशका विभिन्न जिल्लामा किताब पुर्याउन सुरु गरेको छ । आइतबार बैतडीमा एक लाख ८० हजार सेट पाठ्यपुस्तक आइपुगेका छन् ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले बैतडी, दार्चुला लगायतका प्रदेशका नौ वटै जिल्लामा भर्ना भएकै दिन विद्यार्थीले निःशुल्क किताब पुर्याउने लक्ष राखेको प्रादेशिक प्रमुख रामविनय श्रेष्ठले बताउनुभयो । उहाँले शैक्षिक सत्र २०८२ मा सुदूरपश्चिम प्रदेशभरि १७ लाख ७६ हजार २५७ सेट पुस्तक बिक्री वितरण गर्ने लक्ष रहेको बताउनुभयो । उहाँले कक्षा ३ देखि १२ सम्मका सबै पाठ्यपुस्तक जिल्ला जिल्लामा पुर्याउन सुरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बैतडी, दार्चुला र बाजुराका लागि आवश्य पर्ने पाठ्यपुस्तक गैसकेका छन् । अन्य जिल्लाका वितरकले बिल काटिसकेकाले ढुवानीको तयारी भइरहेको छ ।”
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयको तथ्याङ्क अनुसार बैतडीमा एक लाख ८० हजार सेट, दार्चुला ८६ हजार, बाजुरामा एक लाख आठ हजार सेट पाठ्यपुस्तक ढुवानी भई जिल्ला पुगिसकेका छन् । आइतबार बैतडी सदमुकाममा किताबको गाडी आईपुगेकाले गोदाममा राख्ने काम सुरु भएको बैतडी सदरमुकाम स्थित वितरण जगन्नाथ पुस्तक भण्डारका सञ्चालक जनकराज भट्टले बताउनुभयो ।
त्यसैगरी अछामका लागि एक लाख ७४ हजार ९७२ सेट, डोटीका लागि एक लाख ४० हजार सेट, डडेलधुराका लागि ९१ हजार सेट, कञ्चनपुरका लागि दुई लाख ४७ हजार ६२० सेट र कैलालीका लागि पाँच लाख २० हजार सेट किताब ढुवानीका लागि तयारी अवस्थामा रहेको प्रादेशिक कार्यालयले जनाएको छ ।
गत वर्ष १६ लाख ७८ हजार किताब बिक्री गरेको प्रादेशिक कार्यालयले यो वर्ष १७ लाख ७६ हजार २५७ सेट बिक्री गर्ने लक्ष राखेको छ । यो वर्ष केन्द्रले कक्षा ३ को पाठ्यपुस्त आफैले छापेका कारण किताबको सङ्ख्या बढेको बताइएको छ ।
जनक शिक्षा सामग्री केन्द्रका प्रादेशिक प्रमुख श्रेष्ठका अनुसार गत वर्ष २२ करोड रुपियाँ बराबरका पुस्तक बिक्री भएका थिए । शैक्षिक सत्र २०८२ मा २५ करोड बराबरका किताब बिक्री गर्ने लक्ष रहेको उहाँले बताउनुभयो ।