• २५ चैत २०८१, सोमबार

फुटबलर दिपेशको प्रशिक्षणलाई जुट्यो सहयोग

blog

फुटबलर गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत २५ गते । नेपाली राष्ट्रिय टिमको अन्डर–१३ फुटबल खेलाडी दिपेश गुरुङलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहयोग गरेको छ । लमजुङको क्व्होलासोँथार गाउँपालिका–३, फुल्म्रोका दिपेश गुरुङको शैक्षिक तथा खेल प्रशिक्षणका लागि समितिले आर्थिक सहयोग गरेको हो ।

राष्ट्रिय टिममा समावेश हुनुअघि सशस्त्र प्रहरी बल (एपिएफ) को अन्डर–१३ फुटवल टिमबाट खेलयात्रा अघि बढाउनुभएका गुरुङलाई लमजुङ सेवा समिति हङकङले ७० हजार र सोही समितिको जिल्लास्थित समन्वय समितिबाट २० हजार गरी ९० हजार रुपियाँ आर्थिक सहयोग गरिएको हो । 

लमजुङ सेवा समिति हङकङ अन्तर्गत खेलकुद समितिका संयोजक सन्तोष गुरुङ र समन्वय समिति लमजुङको अध्यक्ष मीना गुरुङलगायतले खेलाडी गुरुङ र उहाँको आमा डिलकाशी गुरुङलाई रकम हस्तान्तरण गर्नुभयो ।

राष्ट्रिय टिमका लागि एपिएफ क्लबमा आबद्ध गुरुङ सशस्त्र प्रहरी विद्यालयमा अध्ययन गर्दै फुटबल प्रशिक्षण लिँदैं आउनुभएको छ । हाल एसइई परीक्षा दिनुभएका गुरुङले एपिएफबाट अन्डर –१३ का थुप्रै खेलहरूमा सहभागिता जनाउनुभएको छ ।

लमजुङ सेवा समिति हङकङले जिल्लाको स्वास्थ्य, विपद, खेलकुद र शिक्षाको क्षेत्रमा सहयोग गर्दैआएको छ । समितिले विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका लागि ४४ लाखको अक्षयकोष स्थापना गरेको छ । 

सोही कोषमा रहेको रकमको व्याजबाट समितिले समाजिक सेवामा कामहरू गर्दैआएको छ । सो समितिले जिल्लामा विभिन्न क्षेत्रमा सहयोगका लागि स्थापित अक्षयकोषलाई एक करोेड पुर्‍याउने तयारी गरेको अध्यक्ष मीना गुरुङले बताउनुभयो ।