नारद कोहार
तौलिहवा(कपिलबस्तु), चैत २५ गते । कपिलबस्तुमा बसोवास गर्ने नेटुवा समुदायहरूको परम्परागत सिपलाई व्यावसायिक बनाउन सर्प उद्धार सम्बन्धि सीप विकास तालिम दिइएको छ । जिल्लाको मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकामा रहेका नेटुवा समुदायका व्यक्तिहरूलाई तिन दिने सर्प उद्धार सम्बन्धि सीप विकास तालिम प्रदान गरिएको हो ।
गाँउघरमा निस्केको सर्पलाई उद्धार गर्न जाँदा पहिला आफू सुरक्षित रहेर उद्धार गर्ने सिप बारे जानकारी भएको सहभागी राजकुमार नेटुवाले बताउनुभयो । सर्पको उद्धारमा खटिँदै आएका राजकुमारले नेपालमा पाइने सर्पका प्रजाति, सर्पका विशेषता, बिशालु सर्पको पहिचान र उद्धारका लागि अपनाउनु पर्ने विधिका बारेमा जानकारी प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक सुनिल सापकोटाले कपिलबस्तुमा बसोवास गर्ने नेटुवा समुदायका व्यक्तिहरूलाई सर्प र सर्पदंश सम्बन्धि प्रशिक्षण दिइएको बताउनुभभयो । उहाँले भन्नुभयो “नेटुवा समुदाय परम्परागत रूपमा सर्पसँग निकट रहे पनि यसलाई व्यावसायीक रूपमा प्रयोग गर्न प्रोत्साहन, उपाय लगायतको विषयमा जानकारी प्रदान गरिएको छ ।” नेटुवा समुदायले जानेको सिपहरूलाई कसरी पेसासँग जोड्न सकिन्छ, कसरी कमाइसँग जोड्नका लागि तालिम प्रदान गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा फरवार्ड नेपालका उद्यम विकास अधिकृत झलक थापाले नेटुवा समुदायका परम्परागत सिपलाई व्यावसायिक बनाउने उद्देश्यका साथ सर्प उद्धार सम्बन्धि सीप विकास तालिम दिइएको बताउनुभयो । भएको परम्परागत सिपलाई व्यावसायिक बनाउनका लागि उहाँहरूको माग अनुसार सो तालिम प्रदान गरिएको अधिकृत थापाको भनाइ छ । साथै उहाँहरूसँग भएको सिपहरूलाई कानुनी र आधुनिक रूपमा विकास गर्न उद्धार सम्बन्धि सिप प्रदान गरिएको बताउनुभयो ।
सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्धिन खाले सिप सिकेर मात्रै हुँदैन त्यसलाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिकेको सिपलाई सहि तरिकाले उपयोग गरियो भने ज्यान जाने जोखिम पनि कम हुने छ ।”
उद्धार गरिएको सर्पहरूलाई पर्यटन, अनुसन्धान लगायतको आम्दानीको स्रोतहरूसँग जोड्न सकिने छ । फरवार्ड नेपाल र कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रद्वारा सञ्चालित सुधारिएको खाद्य प्राणाली परियोजना अन्तर्गत प्रदान नगरिएको सिप विकास तालिममा २० जना नेटुवा समुदायको व्यक्तिहरूको सहभागिता रहेको थियो ।