• १९ असोज २०८१, शनिबार

अत्यधिक गर्मीले मौसमी बिरामी बढे

blog

मौसमी बिरामी बढ्दै गएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गर्न आयकाहरू  । तस्बिर : सिराज खान

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, जेठ २२ गते अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन नराम्ररी प्रभावित भएको छ । केही दिनयता एक्कासि गर्मी बढेपछि मौसमी बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । मौसमी रोगका कारण बाँकेको नेपालगञ्ज र कोहलपुरस्थित अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको भीड बढ्न थालेको छ ।गर्मी बढेसँगै दिनानुदिन बिरामीको सङ्ख्या पनि बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । विशेषगरी मौसमी ज्वरो, झाडापखाला, टाउको दुख्ने र शरीर चिलाउने जस्ता समस्या देखिएका छन् । 

नेपालगञ्जस्थित भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसाल गर्मी बढेसँगै विभिन्न किसिमका मौसमी रोगको उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताउनुहुन्छ । केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढिरहेको जानकारी दिंदै उहाँले यस्ता प्रकारका समस्या भएका बिरामी आउने क्रम अझै बढ्न सक्ने बताउनुभयो । 

त्यस्तै छालासम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि दैनिक बढ्दो अवस्थामा छ । गर्मीका कारण एलर्जी भएकाहरू उपचारका लागि अस्पताल आउने गर्छन् । “झाडापखाला र ज्वरोका बिरामी धेरै छन्,” डा. रिसालले भन्नुभयो, “यतिबेला खानपिन र सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।” 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका डा. प्रकाश नागले गर्मीका कारण धेरै बिरामी भएको जानकारी दिनुभयो । खानपिनमा ध्यान नदिँदा पखला, कलेरा र छालासम्बन्धी रोग देखिएको छ । खजुरा गाउँपालिकामा रहेको स्वास्थ्य संस्थामा समेत बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

खजुराका स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले गर्मी चर्किएसँगै बिरामीको चाप बढ्न थालेको बताउनुभयो । उहाँका अनुसार विशेषगरी ज्वरो र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको छ ।

गर्मी चर्केपछि दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ । दिनभरको टन्टलापुर गर्मीसँगै राति हावा नचल्दा झन् समस्या देखिएको छ । स्वास्थ्यकर्मीका अनुसार भाइरल ज्वरोबाट बच्न गर्मीबाट जोगिनुपर्ने हुन्छ, पर्याप्त मात्रामा पानी र झोलिलो पदार्थ खानुपर्ने हुन्छ । चर्को घाममा अनावश्यक हिँड्डुल नगर्न आग्रह गरिएको छ ।