काठमाडौँ, चैत १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली मङ्गलबार दिउँसो त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले बिदाइ गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता हुने छ ।
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुुई समझदारीपत्रमा हस्ताक्षर हुने छ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबिच छ समझदारी पत्रमा हस्ताक्षर हुने छ । उहाँले थाइल्यान्डका प्रतिष्ठित व्यावसायीहरूसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्नुहुने छ ।
प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते सम्बोधन गर्नुहुने छ र सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्नुहुने छ । प्रधानमन्त्री यही चैत २२ गते नेपाल फर्किनुहुने छ ।