• १८ असार २०८१, मङ्गलबार

हज यात्रीका लागि शुल्क वृद्धि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २१ गते । नेपाली इस्लाम धर्मावलम्बीले यस वर्ष हज यात्रामा जाँदा विगतका वर्षको तुलनामा डेढ लाख रुपियाँ बढी खर्च गर्नुपर्ने भएको छ । साउदी अरब सरकारले मक्का मदिनामा हुने खाना तथा आवास सेवाका लागि निर्धारण गर्ने विभिन्न शीर्षकका शुल्क र कर वृद्धि गरेका कारण हज यात्रीका लागि खर्च बढेको हो । 

नेपाल हज समितिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै सन् २०२२ को हज यात्राका लागि चार लाख ६३ हजार ३९३ रुपियाँ शुल्क लाग्ने जनाएको छ । समितिका अध्यक्ष शमशेर मियाँले शुल्क वृद्धि हुनुमा मूल्य वृद्धि 

कारक भएको बताउनुभयो । सन् २०१९ मा हज यात्राका लागि दुई लाख २९ हजार ७३१ रुपियाँ लागेको थियो । 

विगतका वर्षमा साउदी सरकारले २६ दिनको खाना उपलब्ध गराउँदै आएकोमा यस वर्ष ३४ दिनसम्मका लागि व्यवस्था गरेको, बसाइका लागि पनि कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य मापदण्ड अपनाउँदै साउदी 

सरकारले तोकेका होटलमा बस्नु परेका कारण शुल्क वृद्धि हुन पुगेको अध्यक्षले मियाँले स्पष्ट पार्नुभयो । 

कमजोर आर्थिक अवस्था भएकालाई करिब ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने पहल भएको नेपाल हज उपसमितिले जनाएको छ । कोभिड–१९ का कारण सन् २०२० र २०२१ मा हज यात्रा हुन सकेन । सन् २०२० मा हज यात्रामा जान निवेदन दिएकालाई नै यो वर्ष पहिलो प्राथमिकतामा राखेर यात्राको व्यवस्थापन गरिएको छ । यात्रामा जान ६५ वर्ष उमेरभित्रका कोभिडविरुद्धको पूर्ण मात्राका खोप लगाइसकेका ५४८ जना तयार भएको समितिले जनाएको छ । 

प्रत्येक वर्ष हिजरी संवत्अनुसार १२औँ महिना जिलहिज्जाको ८ देखि १२-१३ तारिखसम्म हज हुने गर्छ । सोहीअनुसार साउदी अरब सरकारको हज तथा उमरा मन्त्रालय र नेपलको गृह मन्त्रालयबीच हुने सम्झौताका आधारमा हज यात्रुको कोटा र यात्रा प्रक्रिया निर्धारण हुने गरेको छ ।