• ९ पुस २०८१, मङ्गलबार

छोरी दिन नै मान्दैनथे

blog

गोकर्ण दयाल 

सुदूर पहाडका काकाकुल बस्तीमा सुदूरपश्चिम प्रदेश सरकारले लिफ्ट गरेर खानेपानी पु-याउन थालेको छ । बैतडीको सिगास गाउँपालिका–३, ठूलीसैनी गाउँमा प्रदेश सरकारले तीन करोड ८० लाख रुपियाँको लिफ्ट खानेपानी योजना बनाइदिएपछि गाउँमा खुसियाली छाएको छ । बैतडी सदरमुकामबाट करिब ८० किलोमिटर टाढा रहेको ठूलीसैनी गाउँमा खानेपानीकै कारण परिवर्तन आएको छ ।

तीन किलोमिटर तल सिन्याखेत खोलाबाट लिफ्ट गरेर खानेपानी ठूलीसैनी गाउँमा लगिएको छ । यसको उचाइ एक हजार ५२ मिटर छ । चार ठाउँमा पानी झार्ने ट्याङ्की छन् । पानी तान्न ५२ किलोवाट सोलार प्रविधि जडान गरिएको छ । पानी वितरणका लागि अहिले घरघरमा धारा निर्माण गर्न उपभोक्ता आफैँ खटिएका छन् । 

यसअघि सिगास गाउँपालिका–३ का करिब दुई सय घरधुरीका बासिन्दा पानी लिन दुई घण्टा पैदल हिँडेर डडेल्धुराको नवदुर्गा गाउँपालिका पुग्नुपर्ने बाध्यता थियो । दैनिक ४० लिटरको जर्किन पिठ्यूँमा राखेर पानी बोक्दा महिलाको पाठेघर खस्ने समस्या थियो । त्यसैले यो गाउँका युवकलाई छोरी दिन पनि मान्दैनथे । गाउँका युवकको विवाह टाढा गाउँका युवतीसँग हुने गरेको थियो । गाउँमा अहिले लिफ्ट खानेपानी योजना बनेपछि बुहारी भित्र्याउन सहज मात्र भएको छैन, महिलाको कार्यबोझसमेत घटेको छ । 


विवाह गर्न बैतडी र डडेल्धुराका नजिकैको गाउँमा केटी खोज्न जाँदा पानीको दुःख छ भनेर कसैले छोरी दिन नै नमानेको मनोज धामी सुनाउनुहुन्छ । धामीले भन्नुभयो, “पछि घुम्दै जाँदा बझाङको सुनकुडाबाट दुलही भित्र्याएँ ।” 

खानेपानी पुगेपछि गाउँमा बुहारी भित्र्याउन सहज भएको स्थानीय उपभोक्ता देउमती धामी बताउनुहुन्छ । स्थानीय लवजमा देउमती भन्नुहुन्छ, “पानीको साह्रै दुःख थियो, बुहारी पन नपाउन्या । गाउँमा पानी आयापछि बुहारी भित्र्याउन सजिलो भयाको छ । जर्किनमा पानी बोक्नु पड्याको छैन ।”

गाउँमा खानेपानी आएपछि बन्द रहेका शौचालय खुलेका छन् भने महिनावारी र सरसफाइमा सहज भएको अर्का उपभोक्ता हीरा धामी बताउनुहुन्छ । “महिनावारी भएका बेला सरसफाइ नगरी बस्नुपर्ने बाध्यता थियो,” हीराले भन्नुभयो, “पानी आएपछि सजिलो भएको छ ।”

सिन्याखेत खोलाबाट चार घण्टाको उकालोमा लिफ्ट खानेपानी झरेपछि ट्याङ्कीबाट बढी भएर बगेको पानी स्थानीय पोखरीमा जम्मा हुने गरेको छ । पोखरीको पानीले घाँस चर्न गएका बस्तुभाउको तिर्खा पनि मेटिने गरेको छ । ट्याङ्कीबाट बढी भएको पानी नजिकैको पोखरीमा जम्मा हुँदा बस्तुभाउ र चराचुरुङ्गीको तिर्खा मेटिनुका साथै पर्यावरणलाई फाइदा पुगेको उपभोक्ता सुन्दरसिंह धामी बताउनुहुन्छ । 

सय वर्षपछि धुलीधारमा खानेपानी

बैतडीको सुर्नया गाउँपालिका–६, धुलीधारमा पनि बस्ती बसेको करिब सय वर्षपछि खानेपानीको धारा निर्माण सुरु भएको छ । दैनिक एक घण्टा ओरालो झरेर खानेपानी बोक्नुपर्ने बाध्यता सय वर्षपछि अन्त्य हुन लागेकाले बस्तीमा खुसियाली छाएको छ । 

सुर्नयाको धुलीधार बस्तीमा खानेपानी पुग्दा सूर्य पश्चिमबाट उदाएको जस्तो अनुभूति भएको स्थानीय नवराज अवस्थी बताउनुहुन्छ । प्रदेश सरकारले एक करोड ४० लाख रुपियाँ बजेट दिएपछि बाउबाजेको पालादेखिको पानीको दुःख तेस्रो पुस्तामा आइपुग्दा हटेकोमा अवस्थी निकै खुसी देखिनुहुन्छ । धुलीधारमा खानेपानी पु¥याउन १९० मिटर ठाडो उकालोमा सौर्य ऊर्जाबाट पानी लिफ्ट गरेर इन्टेकमा झारिएको छ । 

मेलौलीमा सुर्नयाको पानी

बैतडीको सबैभन्दा बढी जनसङ्ख्या भएको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिकाको काँडा बजारमा सुदूरपश्चिम प्रदेश सरकाकै पहलमा छ करोड ५० लाख रुपियाँको लागतमा सुर्नया नदीबाट लिफ्ट खानेपानी योजना निर्माण सुरु भएको छ । सुर्नया नदीबाट लिफ्ट खानेपानी योजना निर्माण हुन थालेपछि मेलौली बजारका स्थानीयवासीमा पनि खुसियाली छाएको छ ।बैतडी र दार्चुला गरी यो वर्ष सुदूरपश्चिम प्रदेश सरकारको करिब १२ करोड रुपियाँको बजेटबाट सातवटा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बैतडीले जनाएको छ । लिफ्ट खानेपानी योजना समयमै सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश सरकार मातहतको बैतडी र दार्चुला जिल्ला हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बैतडी क्रियाशील छ ।

गाउँका युवकलाई छोरी दिन पनि मान्दैनथे । गाउँका युवकको विवाह टाढा गाउँका युवतीसँग हुने गरेको थियो । गाउँमा अहिले लिफ्ट खानेपानी योजना बनेपछि बुहारी भित्र्याउन सहज मात्र भएको छैन, महिलाको कार्यबोझसमेत घटेको छ ।   

कार्यालयको तथ्याङ्कअनुसार बैतडीको सिगास गाउँपालिकाको लगन–ठूलीसैनी, सुर्नयाको धुलीधार, मेलौली नगरपालिकाको मेलौली बजार, दार्चुलाको शैल्यशिखर, पनेबाँझ र रातापानी गरेर करिब एक हजारभन्दा बढी घरधुरीलाई लिफ्ट प्रविधिबाट पानी उपलब्ध गराइएको छ । पानीका कारण बुहारी नपाउने गाउँमा पानी पुगेपछि भएको परिवर्तन हेर्न मन्त्रालयबाट सचिवस्तरको टोली आउने तयारी भइरहेको पनि कार्यालयले जनाएको छ । बिजुली बत्ती नपुगेको ठाउँमा सौर्य ऊर्जाबाट लिफ्ट खानेपानी योजना निर्माण गरेर पहाडी भूभागको जनजीवनलाई पानी उपलब्ध गराइएको छ ।

दुई हजार मिटर उचाइमा पानी

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको बैतडीको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको अग्लो डाँडामा डिप बोरिङबाट पानी निकालिएपछि ५० हजार नर्सरीमा सिँचाइ पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकार कृषि मन्त्रालयको ३२ लाख ५० हजार रुपियाँमा डिप बोरिङ गरेर ५० एमएम पाइपबाट प्रतिसेकेण्ड दुई लिटर पानी बग्न थालेको छ । 

यस क्षेत्रमा पहिले बाह्रै महिना सुक्खा हुन्थ्यो । सुक्खा फलफूल विकास केन्द्र स्थापनाको ५९ वर्षपछि यहाँ सिँचाइ पुगेको कार्यालय प्रमुख डम्बर भाटको भनाइ छ । दशरथचन्द नगरपालिका–१, गुरुखोलामाथि सतबाँझमा २०१९ सालमा २९ हेक्टर क्षेत्रफलमा छ हजार स्याउका बोट लगाएर सतबाँझ बागवानी स्थापना भएको थियो । कुनै बेला लटरम्म स्याउ फल्ने बैतडीको सतबाँझमा पछिल्लो समय स्याउ फल्न छाडेपछि अहिले यहाँ हिँउदे फलफूलको नर्सरी उत्पादन भइरहेको छ । यहाँ ओखर, जैतुन, नास्पातीलगायतका फलफूलको नर्सरी छन् । 

डोजरे विकासले मुहान सुक्दै

जलवायु परिवर्तन र जथाभावी डोजरले सडक खन्दा बैतडी र दार्चुलाका अधिकांश स्थानीय तहमा भएका खानोपानी मुहान सुकेपछि लिफ्ट खानेपानी योजनाको माग बढ्न थालेको छ । स्थानीय तहले विकास निर्माण गर्दा पानीका स्रोत नसुक्ने गरी सडक विस्तार गर्नुपर्ने खानेपानी कार्यालयले सुझाव दिँदै आइरहेको छ तर कार्यान्वयन हुन सकेको छैन । पानीको स्रोत बचाउन स्थानीय तहको सरकारले पोखरी निर्माण गरेर दिगो विकासमा जोड दिनुपर्ने विज्ञहरूले औँल्याएका छन् । बैतडी जिल्लामा रहेका १० वटा स्थानीय तहका ८४ वटा वडामा स्थानीय सरकारले सडकलाई प्राथमिकता दिए पनि जथाभावी डोजर चल्दा पानीका मुहान सुक्दै गइरहेका   छन् । पर्यावरणीय अध्ययन नगरी हचुवाका भरमा सडक खन्दा वनजङ्गल विनाश हुनुका साथै सडकको माटोले खानेपानीका मुहान पुरिन थालेका छन् । डाँडामा भएका पानीका मुहान सुकेपछि खोला र नदीबाट पानी लिफ्ट गर्नुपर्ने अवस्था आउन थालेको छ ।