• १९ चैत २०८१, मङ्गलबार

प्रतिपक्षले संसद अवरुद्ध पार्नु संविधान विपरितः प्रमुख सचेतक बर्तौला

blog

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौला बिहीबार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, चैत १४ गते । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा विपक्षी दलहरूले सदनमा अवरोध गरेर अदालतलाई प्रभावित पार्न खोजेको टिप्पणी गर्नुभएको छ ।

बिहीबार संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुलमान बर्खास्तीको विषय अदालतको क्षेत्राधिकार भित्र प्रवेश गरिसकेको उल्लेख गर्नुहुँदै उहाँले सोही विषयलाई लिएर प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्नु संविधान विपरित भएको बताउनुभयो ।

प्रभावित व्यक्ति न्यायका लागि अदालती प्रक्रियामा गइसकेका कारण संसदमा बहसको विषय बनाउन जरुरी नभएको उहाँको भनाइ छ । प्रतिपक्षी दलहरूले उठाएको विषयमा सरकार जवाफ दिन तयार रहेको भए पनि व्यक्ति विषेशको जवाफ माग गर्नु बेठिक भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘अपोजिसनले अदालतको क्षेत्राधिकार भित्र प्रवेश गरेको विषयलाई जबरजस्ती संसदको ब्यानर बनाएर संविधानविपरित अदालतको न्याय निरुपणको प्रक्रियालाई प्रभावित गर्ने कुरा यो आफैंमा बेठिक छ । सडकमा नाराबाजी गर्ने, पुत्ला दहन गर्न लगाउने, मसाल जुलुस लगाउने र हाउसमा समेत अवरोध गर्ने कुराले अदालतलाई प्रभावित पार्ने मनसाय देखिन्छ । यस्तो कुरा लोकतन्त्रमा बेठिक हुन्छ ।’’

सरकारको नीति र निर्देशन नमानेको कारण प्राधिकरणबाट कुलमानलाई हटाइएको समेत उहाँले स्पष्ट पार्नुभयो ।