बनेपा, चैत १४ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताउनुभएको छ । बनेपा नगरपालिकाको ४४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको अहिले विकल्प नभएको बताउनुभयो ।
‘‘संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमिकमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प छैन,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले जस्तो चुनौती आए पनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै कसैले केही भन्दैमा डगमाउने कुरा नभएको बताउनुभयो । अहिलेको परिवर्तन उसै प्राप्त नभएको भन्दै उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशील हुनु नै सबैको हितमा हुने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले नागरिकको जीवन र जिविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको पनि बताउनुभयो । उहाँले अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको बताउनुभयो ।
‘‘भएको कुरालाई भएको भन्ने बानी गरौं । नभएको, गर्न बाँकी काम पूरा गर्नतिर लागौं,’’ उहाँले भन्नुभयो, ‘‘विकास निर्माणको काम राम्रो भएर मात्र हुँदैन, जनप्रतिनिधिले बुझ्ने तर जनताले नबुझ्दा पनि समस्या देखिएको छ । विकास निर्माणको काममा सुरूदेखिनै जनतालाई सहभागिता गराउनुपर्छ । जनता र जनप्रतिनिधिसँगै मिलेर काम गर्दा असम्भव ठानिएको कुरा पनि सम्भव छ ।’’
कार्यक्रममा बाग्मती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, तिर्थ लामा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युत वाग्लेलगायतले नगरपालिकालाई स्थापना दिवसको शुभकामना दिँदै बनेपाको विकासमा आफूहरूले सकेको काम गर्ने बताउनुभएको थियो ।