• ९ पुस २०८२, बुधबार

बुढ्यौलीमा फर्कियो दृष्टि

blog

क्व्होलासोथार गाउँपालिका –५ सिङ्दीमा भएको शिविरमा उपचार गराउँदै ज्येष्ठ नागरिक । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, पुस ९ गते । क्व्होलासोथार गाउँपालिका –५ सिङ्दीका ९३ बर्षिय केशबीर गुरुङको बाँया आँखाले लामो समयदेखि देख्न छोडेको थियो । आँखा नदेख्दा शौचालय जान लौरोको साहरा लिनुपथ्र्यो । वर्षौंदेखि धमिलो संसारमा बाँचिरहनुभएका केशबीरले गाउँमै आएको शिविरमा आँखाको शल्यक्रिया भएपछि नयाँ जीवन पाउनुभयो । 

भारतीय भूपू सैनिकसमेत रहनुभएका गुरुङले भन्नुभयो, “अप्रेसनपछि त सबै झलमल्ल देखियो । फेरि नयाँ जीवन पाएजस्तो भयो ।” क्व्होलासोथार गाउँपालिका –५, सिङ्दीमा आयोजित शिविरले केशबीरको मात्र हैन, ज्येष्ठ नागरिकको बुढौलीमा दृष्टि फर्किएको छ । 

क्व्होलासोथार गाउँपालिका –८ घाम्राङका ८२ वर्षीय बखते कामीको बायाँ आँखाले एक वर्षअघिदेखि देख्न छाडेको थियो । उहाँले दायाँ आँखाले पनि कम देख्नुहुन्थ्यो । शिविरमा शल्यक्रिया गरेपछि उहाँको दृष्टि फर्किएको छ ।

पसगाउँकी ८२ वर्षीया सानुमाया गुरुङ, पसगाउँकै ८८ वर्षीय गोपीमान गुरुङ, क्व्होलासोथार –२ मालिङकी ७३ वर्षीया सुमिन्द्रा घलेलगायतले मोतीबिन्दुको शल्यक्रियापछि आँखा देख्नुभएको छ । कास्कीको मादी गाउँपालिका –८ पोसीका ६९ वर्षीय एकबहादुर गुरुङ साढे २ घण्टा हिँडेर शिविर आएर शल्यक्रिया गर्नुभयो ।

सिङ्दीमा दुई दिन सञ्चालन भएको शिविरमा क्व्होलासोथार –९ गिलुङका ७६ वर्षीय बुद्धिरास घर्ती, पसगाउँका ७९ वर्षीय कुमानसिंह गुरुङ र ७४ वर्षीय कूलप्रसाद गुरुङ, वडा ७ चरागाउँकी ६९ वर्षीय कुस्मी गुरुङ र ६१ वर्षीया ननसुब्बा गुरुङ, वडा ५ सिङ्दीकी ७० वर्षीय पातेंकासी गुरुङ, वडा ८ मपिङका करजङ गुरुङ, रुदरी गुरुङसहित ५४ जनाको मोतीबिन्दूको शल्यक्रिया गरिएको थियो ।

क्व्होलासोथार गाउँपालिकाको आयोजनामा मुटु फाउन्डेशन नेपाल र मनोज एशोसिएसन फ्रान्सको व्यवस्थापन, हिमालय आँखा अस्पताल पोखरा र आइकेयर फाउन्डेसनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरअघि मिदिमवारिका ५ वडामा स्क्रिनिङ गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले जानकारी दिनुभयो ।

शिविरमा महिला ३४४ र पुरुष ३२८ गरी ६७२ जनाले आँखा जाँच सेवा लिएका थिए । तीमध्ये ३०० जनालाई नजिक देख्न सकिने चस्मा वितरण गरिएको मुटु फाउन्डेशनका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । हिमालय आँखा अस्पताल पोखराकी नेत्ररोग विशेषज्ञ डा. नारायणी भट्टराई रोकाका अनुसार दूरदराजका ज्येष्ठ नागरिकले विभिन्न कारणले मोतीबिन्दू पालेर बस्ने गरेका छन् । उहाँले भन्नुभयो, “सहर झर्न झन्झट मान्ने, लिएर आउने सहारा नहुनेहरुका लागि गाउँमा हुने शिविर अत्यन्त प्रभावकारी हुन्छ ।” 

गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार स्थानीयको स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता शिविर आयोजना गरिँदैछ । यसअघि क्व्होलासोथार –४ भुजुङमा आयोजित शिविरमा ६५८ जनाले सेवा लिएका थिए । मोतीबिन्दू भएका मात्रै ७८ जनाको शल्यत्रिया गरिएको थियो ।