• १८ चैत २०८१, सोमबार

प्रधानमन्त्री कपमा पुलिसको पहिलो हार

blog

पुलिसका खेलाडी । फाइल तस्बिर

काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाइसकेको विभागीय टोली नेपाल पुलिस क्लबले लिग चरणमा पहिलो हार खेपेको छ ।  

बुटवलको एक्ट्राओभल मैदानमा बिहीबार भएको खेलमा पुलिस त्रिभुवन आर्मी क्लबसँग चार विकेटले पराजित भयो । जितसँगै आर्मी फाइनलमा पुगेको छ । फाइनलमा पुलिस र आर्मीबिच नै भिडन्त हुने छ । 

आर्मीले नौ खेलबाट १६ अङ्क बनाएको छ । पुलिसले पनि समान खेलबाट १६ नै अङ्क बनाएको छ । रन रेटका आधारमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रह्यो ।

जितका लागि पुलिसले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको आर्मीले ४१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । 


आर्मीका लागि विवेक यादवले अविजित ४१ रन बनाउनुभयो । तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२, कप्तान विनोद भण्डारीले अविजित १३ र बसिर अहमदले १२ रन जोड्नुभयो । 

बलिङमा पुलिसका ललितनारायण राजवंशीले चार विकेट लिनुभयो । कप्तान दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४१.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रन बनाएको थियो । 

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन बनाउनुभयो । यस्तै आरिफ शेखले २२, गुल्शनकुमार झाले १७, सागर ढकालले अविजित १६ र अर्जुन साउदले १३ रन जोड्नुभयो । 

बलिङमा आर्मीका लागि शाहब आमलले चार विकेट लिनुभयो । नरेन साउदले तीन तथा कुशल मल्ल र भीम सार्कीले एक एक विकेट झार्नुभयो ।