विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत १४ गते । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था कहाली लाग्दो छ ।
विद्यालय को कक्षा कोठामा ढोका छैन भने खानेपानी र शौचालय लगायतका पूर्वाधार केही पनि छैन । अझ डेक्स बेञ्चको दर्शन त दुर्लभै छ । तर कागजमा २०६७ सालदेखि नै सञ्चालनमा रहेको छ सो सरकारी विद्यालय ।
तीन कक्षासम्म सञ्चालनमा रहेको यस विद्यालयमा दुई जना शिक्षक कार्यरत रहेको विष्णुपुर गाउँपालिकाका शिक्षा संयोजक रामेन्द्र यादवले जानकारी दिनुभयो । उहाँले राहत कोटाबाट प्रधानाध्यापकमा नरेशकुमार यादव र स्वयंसेवक शिक्षक सन्तकुमार यादव त्यहा कार्यरत रहेको बताउनुभयो । “३०/४० जना विद्यार्थी पनि अध्ययनरत छन्” संयोजक यादवले भन्नुभयो ।
न शिक्षक न विद्यार्थी
कहिलेकाही शिक्षक विद्यालय आउने गरेको बताउछन् विद्यालयको वरपर रहेका स्थानियवासी । उनीहरुले १० बजेको समयमा नियमिति विद्यार्थी र शिक्षक आएर विद्यालय सञ्चालन भएको अहिलेसम्म नदेखेको सुनाए । “१०/१५ दिनमा एकचोटी नरेश सर आउनुहुन्छ” स्थानीयले भने ।
यता विद्यालयका प्रधानाध्यापक यादवले आफू नियमित विद्यालय आउने गरेको दावी गर्नुहुन्छ । तर विद्यालय सञ्चालनको समय १० बजे कहिले पनि विद्यालयमा भेटनु भने हुन्न ।
भवन लगायतका पूर्वाधार नभएपछि विद्यालय सञ्चालनमा अप्ठ्यारो भएकाले भवन निर्माणसम्बन्धी कामका लागि बिहीबार गाउँपालिका जानुपर्ने भएकाले विद्यालय नगएको उहाँको भनाइ छ । “म यस विद्यालयमा पुस महिनादेखि आएँका हुँ, नयाँ छु । ६२÷६३ जना विद्यार्थी विद्यालयको रेकर्डमा छन् । हिजो बुधबार परीक्षा सञ्चालन गरें, १५/१६ जना विद्यार्थी आएको थिए ।,” उहाँले भन्नुभयो ।
कागजमै विद्यालय
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवले त्यो विद्यालय अहिलेसम्म कागजमै सिमित रहेको बताउनुभयो ।
उहाँले म पालिका अध्यक्षमा निर्वाचित भएर आएपछि विद्यालयहरुको अवस्था बुझ्दै जाँदा सो विद्यालयमा कुनै पूर्वाधार नै नभएर कागजमै सिमित भएको देखेपछि जिवन्त बनाउन दुई जना शिक्षक पठाउनुका साथै यस वर्ष पालिकाबाट भवन निर्माणका लागि १० लाख बजेट समेत विनियोजन गरिएको जानकरी दिनुभयो ।
“यो स्कूल कागजमै थियो । त्यहाँ भवन, खानेपानी र शौचालय लगायतका भौतिक पूर्वाधार नै छैन । एक दिन अनुगमन गर्न जाँदा १७/१८ जना विद्यार्थी भेटियो । दयनिय अवस्थामा रहेको त्यो स्कुललाई व्यवस्थित गर्न यसै वर्ष भवन निर्माण थालिनेछ” उहाँले भन्नुभयो ।
विद्यालयमा शिक्षक नआएरै सुविधा खाने सवालमा यसबारे आफू गम्भीर रहेका र यो विषयमा कडाईका साथ प्रस्तुत हुने बताउनुभयो ।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै अध्यक्ष यादवले गाउँपालिकास्थित रहेको सरकारी विद्यालयहरुको अवस्थामा सुधार ल्याउन नियमित अनुगमन गर्नुका साथै पूर्वाधार विकासका लागि उल्लेखिय काम गर्दै आइरहेको दाबी गर्नुभयो ।