काठमाडौँ, चैत १४ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबिच विवाद नरहेको दाबी गर्नुभएको छ ।
बिहीबार काठमाडौँमा जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित सङ्गठनहरूद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ भन्ने कुरामा इन्प्रिन्सिपल हामी कहिल्यै विवादमा भएनौँ । कहिले प्राविधिक, कहिले कानुनी, कहिले राजनीतकि उत्तारचढावहरूले यो देशमा हुन्छन्, डिले त भयो त्यसकारणले । तर यिसँग सम्बन्धित प्रिन्सिपलमा विवाद भएको हुनाले डिले भएको भन्न मिल्दैन, त्यो होइन ।’’
उहाँले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढङ्गले अघि बढेको बताउनुभयो । उहाँले टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक नेतृत्व मुलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा स्पष्ट रहेको बताउनुभयो ।
‘‘नेपालको शान्ति प्रक्रिया केही मौलिक ढङ्गले अघि बढेको छ । अर्को यो टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरा मुख्यतः पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरालाई पनि राजनीतिक नेतृत्व तहमा कहिल्यै विवाद भएन ।,’’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘मानिसहरूलाई लाग्छ, त्यस्तो होइन होला भनेर । तर हामी राजनीतिक नेतृत्व मुलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्नेकुरामा हामी कन्फ्युजनमा कहिल्यै भएनौँ । यो पनि हाम्रो मौलिकता र शान्ति प्रक्रियाको विशेषता हो ।’’
अध्यक्ष प्रचण्डले विवाद र विमतिका बिचमा पनि देशको राष्ट्रिय मुद्दा भएकाले राजनीति गर्न हुँदैन भनेर आफूहरू लागिरहेको बताउनुभयो ।