• १७ चैत २०८१, आइतबार

तानसेनमा पर्यटन, उद्योग र व्यापार महोत्सव हुँदै

blog

महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर : बिन्दु थापा

बिन्दु थापा
पाल्पा, चैत १४ गते ।
पाल्पाको तानसेमा यही चैत २२ गतेबाट पर्यटक, उद्योग र व्यापार महोत्सव २०८१ हुने भएको छ । तानसेनको टुडिखेलमा यही चैत २२ बाट सुरु हुने महोत्सव वैशाख ३ गतेसम्म हुने छ ।

तानसेन नगरपालिकाको मुख्य आयोजना, पाल्पा व्यापार सङ्घको आयोजना, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, वन तथा वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय घरेलु तथा साना उद्योग पाल्पाकोे सह आयोजना तथा एभरेस्ट इभेन्ट म्यानेजमेन्ट प्राली भरतपुर चितवनको व्यवस्थापनमा महोत्सव हुन लागेको हो ।

पाल्पालाई कृषि, रोजगार, पर्यटन तथा व्यापारमा सम्भावनायुक्त स्थान हो भन्ने बनाउन महोत्सवको आयोजना गर्न लागिएको तानसेन नगरपालिकाको प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठले सार्वजनिक खरिद ऐनको माध्यमबाट टेन्डर गरी महोत्सव सुरु गर्न लागिएको जसबाट ९० लाखभन्दा बढी नगरपालिकाले आम्दानी गरेको जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार पर्यटन र कृषिको माध्यमबाट रोजगारको पहिचान र सृजना तथा आन्तरिक राजस्वको प्रवर्धनका लागि प्रथम ऐतिहासिक महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाको प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो ।

महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको प्रचारप्रसार, गर्दै उत्पादक र उपभोक्ताहरूको मध्यस्तता को कम गर्दै कृषि बालीबाट उत्पादित ताजा तरकारी, फलफूल, अन्नबाली, पशुपक्षी पालन, माछा, च्याउ जडिबुटी आदिको स्टलहरू रहने कार्कीले जानकारी दिनुभयो । यस्तै पाल्पाली ढाका, करुवा जस्ता कुटीर उद्योगहरूलाई झल्काउने स्टलहरू पनि रहने छन् । 

महोत्सवमा तीन सयभन्दा बढी स्टल रहने आयोजक पाल्पा व्यापार सङ्घका अध्यक्ष विष्णुबहदुर कार्कीले जानकारी दिनुभयो । जसमध्ये ३० वटा कृषि, पशु, घरेलु उद्योगबाट उत्पादित वस्तुको निःशुल्क स्टल रहने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर ज्ञवालीले बताउनुभयो । तीन लाख जनाले महोत्सव अवलोकन गर्ने र आठ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।