यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), चैत १४ गते । बर्दिया प्रहरीले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान मुद्दाको दोषीदेखि सामान्य लेनदेन मुद्दाका प्रतिवादीहरू बर्दिया प्रहरीले धामधम पक्राउ गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार चालु आर्थिक वर्षको फागुन एक सय ९३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जब कि अघिल्लो आर्थिक वर्षको अन्त्य सम्ममा एक सय २४ जना मात्र फरार प्रतिवादी मात्र पक्राउ गरिएको थियो । यस वर्ष लामो समयदेखि फरारको सूचीमा रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक केदार खनालले बताउनुभयो ।
बर्दिया अदालतबाट फैसला कैद भुक्तान गर्न बाँकी रहेका, जरिवाना तिर्न र पीडित राहत कोषमा रकम बुझाउन बाँकी रहेका फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस आर्थिक वर्षमा पक्राउ परेका फरार प्रतिवादीहरूबाट एक सय १६, वर्ष एक महिना छ दिन कैद भुक्तान गरिएको छ । त्यसैगरी एक करोड ८५ लाख ५४ हजार पाँच सय ५६ रुपियाँ जरिवाना असुल गरिएको छ । भने चार लाख ८६ हजार चार सय नौ रुपियाँ पीडित राहत कोषमा रकम भराइएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा एक सय २६ जना फरार प्रतिवादीबाट ८६ वर्ष ६ महिना ६ दिन कैद भुक्तान गरिएको थियो भने २६ लाख ३९ हजार नौ सय ५० जरिवाना असुल गरिएको थियो ।
लामो समयदेखि फरार सूचीमा रहेको २० वर्षभन्दा बढि कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरू समेत पक्राउ परेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो । फारार प्रतिवादी पक्राउ गर्ने अभियानले फरार प्रतिवादीको सूची छोटिँदै गएको छ भने भुक्तान गर्नुपर्ने कैदको अवधि कम हुँदै गएको बताउँदै ठुलो रकम जरिवाना स्वरूप असुल हुँदा ठुलो रकम राजस्व उठेको उहाँले बताउनुभयो ।