प्रतीक पौडेल
मर्चवार (रुपन्देही), चैत १४ गते । एउटा हातमा ब्रस अर्को हातमा रङको भाँडो । रङमा ब्रस डुबाउँदै दिनभरि चित्र कोर्न व्यस्त देखिनुहुन्छ रुपन्देहीको सिद्धार्थनगर निवासी ३४ वर्षीय युवा नहकुल विश्वकर्मा । महामानव गौतम बुद्ध र नेपालका विभिन्न प्राकृतिक दृश्यको चित्र कोरिरहेका उहाँ त्यसैमा रमाइरहनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट फाइन आर्टमा स्नातक गर्नुभएका विश्वकर्मा काठमाडौँ छोडेर तीन वर्षअघि रुपन्देहीलाई रोज्नुभयो । जीवनको पहिलो पटक रुपन्देही जिल्ला प्रवेश गर्नुभएका विश्वकर्मा आफ्नो कलाले बजार पाउने सम्भावना देखेर यहाँ आउनुभएको थियो ।
रुपन्देही जिल्लामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल, सीमानाकाको सहर र नजिकैको लुम्बिनी देखेर नहकुलले यहाँ आफ्नो कलाले बजार पाउने आशामा आर्ट ग्यालरीको सुरुवात गर्नुभयो । नहकुल भन्नुहुन्छ, “चित्र कोरेर जीवन चलाउनु छ भने यसलाई व्यावसायिकतातिर जोड्नु पर्छ भन्ने ठानेर भैरहवामा आर्ट ग्यालरीको सुरुवात गरेको हुँ ।” नहकुलको परिवार अहिले आर्ट ग्यालरीको आम्दानीबाट जीविकोपार्जन गरिरहेको छ । नहकुल जस्तै बुटवल उपमहानगरपालिका निवासी ५० वर्षीय विष्णु सुवेदी ब्रस र रङमा दिनभर व्यस्त हुनुहुन्छ । १४ वर्षको उमेरमा पहिलो पटक चित्र कोर्न थाल्नुभएका सुवेदी चित्रकारकै रूपमा कतारसम्म पुग्नुभयो । कतार पुगेर फर्किएपछि बुटवलमा आएर आर्ट ग्यालरी सञ्चालन गर्न थाल्नुभयो । सुवेदी भन्नुहुन्छ, “चित्रकारिता गरेरै जिउने इच्छा हो, पछिल्लो समय प्रविधि र चित्रकारितालाई जोडेर केही नयाँ गर्ने प्रयासमा छु ।”
विश्वकर्मा र सुवेदी जस्तै अर्का चित्रकार हुनुहुन्छ ४७ वर्षीय बिसन गुरुङ । विद्यालय पढ्दादेखि नै चित्रकलामा रुचि राख्ने उहाँ अहिले यसै पेसाबाट स्वरोजगार बन्नुभएको छ । चित्रकला (फाइन आर्ट) र ब्यानर साइनबोर्डमा लेख्ने (कमर्सियल आर्ट) बनाउन उहाँ वभिन्न ठाउँ पुग्नुहुन्छ । दिनभरि काम गरेर त्यसैबाट घरपरिवारको गुजारा गर्नुहुन्छ । गुरुङ भन्नुहुन्छ, “मासिक ६० हजारसम्म कमाइ हुने गर्छ, पहिलाभन्दा कम हो तर कमाइ भने हुन्छ ।”
रुपन्देहीका अर्का चित्रकार हुनुहुन्छ गणेश घिमिरे । घिमिरेले विसं २०६६ देखि सिद्धार्थनगर नगरपालिका–८ मा प्रतिभा आर्ट सञ्चालन गर्नुभएको छ । उहाँले हेन्डिक्राफ्ट आर्ट गर्नुहुन्छ । ३३ वर्षदेखि भैरहवामा रहेर चित्र सिर्जना गर्दै आउनुभएका घिमिरे भन्नुहुन्छ, “स्थानीय सरकारले आफूहरूप्रति चासो दिएर विभिन्न कला प्रदर्शनीलगायतका कार्यक्रम ल्याउन सक्नु पर्छ ।” रुपन्देही जिल्लामा करिब ४० जना चित्रकार रहेका छन् ।