गोरखापत्र समाचारदाता
भक्तपुर, चैत १४ गते । भक्तपुरमा बिस्काः जात्राको रथ निर्माण कार्यले तीव्रता पाएको छ । टौमढीस्थित ङातापोल्हँ अर्थात् पाँचतले मन्दिरअगाडि काठैकाठको प्यागोडा शैलीमा ३५ फिट अग्लो भैरव र भद्रकालीको रथ निर्माण कार्य भइरहेको छ । नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत तान्त्रिक विधि अनुसार मनाउने बिस्काः जात्रा यो वर्ष चैत २८ गतेदेखि सुरु हुँदै छ । प्यागोडा शैलीमा बनाइएको तीनतले भैरवनाथको रथ नयाँ वर्षको चार दिनअगाडिदेखि तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । रथ निर्माण गर्ने नाइके प्रेमलाल शिल्पकारले करिब १० फिट अग्लो रथको काम चैत २७ गतेसम्म हुने जानकारी दिनुभयो ।
परम्परागत शैलीमा बनाइने भैरवनाथको रथमा आधुनिक किलाको प्रयोग हुँदैन । स्थानीय काममा सहयोग गरिरहनुभएको मोहित ख्वाखः का अनुसार रथ दुवैतिर डोरी राखेर तान्ने प्रचलन छ । रथलाई आआफ्नो टोलतिर लैजान प्रतिस्पर्धा गरिन्छ । त्यसैले रथ जतिसक्दो बलियो र परम्परागत शैलीमा निर्माण गर्नु पर्छ । आधुनिक शैलीमा निर्माण गरे रथ भाँचिने उहाँले बताउनुभयो ।
लिच्छविकालदेखि सुरु भएको यो जात्रा भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ भने समापन पनि भैरवनाथको रथ तानेरै गरिन्छ ।
जात्राको पहिलो दिन ‘द्यो क्वबिज्याइगु’ अर्थात् देउताको तल सवारी हुन्छ । भक्तपुर नगरको बिच भागमा रहेको टौमढी ङातापोल्हँ मन्दिरअगाडि राखेर बनाइएको रथलाई तल्लो भागतिर लैजाने भएकाले जात्राको पहिलो दिनलाई देवता तल सवारी हुने भनिएको हो । जात्राको मुख्य आकर्षण ५५ हात लामो लिङ्गो उठाउनु, ढाल्नु र रथ तान्नु हो । सोही अवसरमा मध्यपुर थिमिमा सिन्दूरे जात्रा मनाइने र जिब्रो छेड्ने जात्रा पनि हुन्छ ।