काठमाडौँ, चैत ११ गते । एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले मङ्गलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुने खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ । मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १–० गोलले हराएको थियो ।
सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताउनुभएको छ ।
खेलअघि सोमबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक रोसले मलेसिया बलियो र राम्रो टोली भएको उल्लेख गर्दै नेपाली खेलाडीको प्रदर्शन पनि कम नहुने बताउनुभयो ।
‘‘हामी मलेसियासँग जितका लागि खेल्नेछौँ । बराबरीले पनि नेपालका लागि सन्तुष्ट हुने ठाउँछ । तर हामी राम्रो योजनासहित जितका लागि प्रस्तुत हुनेछौँ,’’ रोसले भन्नुभयो ।
यस्तै नेपालका कप्तान किरण चेम्जोङले मलेसियालाई घरेलु मैदानको साथ रहेपनि नेपाली सर्मथकको साथमा राम्रो प्रदर्शन गर्ने बताउनुभयो । सिङ्गापुरमा धेरै नेपाली समर्थकको साथ पाएको नेपालले मलेसियामा पनि सोही अपेक्षा गरेको किरणको भनाई थियो ।
मलेसियाका मुख्य प्रशिक्षक पिटर क्लामोभ्स्कीले पनि नेपालसँग खेल्न उत्साहित रहेकोले उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । फिफा वरीयतामा समेत नेपालभन्दा माथि रहेको मलेसियाको चुनौती पन्छाउन सक्नु नेपालका लागि ठूलो सफलता हुनेछ ।
फिफा वरीयातमा मलेसिया एक सय ३२औँ र नेपाल एक सय ७५औँ स्थानमा छ । नेपालले अहलेसम्म मलेसियालाई हराउन सकेको छैन । नेपाल र मलेसियाबिच हालसम्म सात वटा अन्तर्राष्ट्रिय भिडन्त भएको छ ।
जसमा नेपाल ६ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो । नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्त भएको थियो । जसमा नेपाल २–० गोलले पराजित भएको थियो ।
नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ । समूहको शीर्षस्थानमा रहेने टोलीले एसियन कप खेल्नेछ ।