कल्पना खरेल
नवलपरासी पश्चिम, चैत ११ गते । नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका वडा नम्बर ४ को विकट गाउँ मानिने महलपोखरीमा एकदिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नगरपालिकाबाट करिब ११ किलोमिटर उत्तर पहाडी भेग पर्ने उक्त क्षेत्रमा बसोबास गर्ने ३५ घरका १३ सय ९१ पशुपंक्षीको उपचार तथा औषधी वितरण गरिएको सुनवल पशुसेवा शाखा प्रमुख मिश्रीप्रसाद खड्काले जानकारी दिनुभयो ।
चेकजाच गर्दा पशुपंक्षीमा बढी मात्रामा जुका, नाम्ले र माटे जस्ता आन्तरिक परजीवी भेटिएको थियो । शिविरमा पशुको गोबर परिश्रण, बन्ध्याकरण, आन्तरिक तथा बाह्य परजीवी परीक्षण गरी निदानसहितको औषधी वितरण र परामर्श सेवा दिइएको पशु क्वारेन्टाइन चेक पोष्ट महेशपुरका पशु सेवा प्राविधिक ठाकुरप्रसाद खड्काले जानकारी दिनुभयो ।
यातायातको असुविधाका कारण वर्षैदेखि पशुपंक्षीमा रोग लाग्दा केही गर्न नसकेका किसानहरु सहज तरिकाले आफ्नै क्षेत्रमा पशुपंक्षीको उपचार भएकोमा हर्षित भएका छन् ।
५१७ वटा बाख्रा, ८१ वटा गाई, ७५ वटा बङ्गुर र ७१८ वटा कुखुरालाई चेकजाँच गरी भिटामिन, डाइजेस्टिक पाउडर, जुका, नाम्ले र माटेको औषधी वितरण गरिएको नगरपालिकाको पशु डा. टोजनाथ ढकालले जानकारी दिनुभयो ।
नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुसेवा सगँ सम्बन्धित कुनै पनि सेवा नपुगेका दुर्गम बस्तीमा उक्त शिविर सञ्चालन गरिएको हो ।