गोकर्ण दयाल
बैतडी, पुस १० गते । जेनजी पुस्ताको आन्दोलनमा सहिद हुनुभएका बैतडीका दीपकसिंह साउदको घरमा प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली पुगेको छ ।
सरकारले उपलब्ध गराएको १५ लाख रुपियाँ राहत पाइसकेको घरपरिवारलाई थप रोजगारी दिन घर परिवारको शिक्षाको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली घरमै पुगेको हो ।
बुधबार प्रुमख जिल्ला अधिकरी पुण्यबिक्रम पौडेलसितको टोलीले जेनजी पुस्ताका सहिद दीपकसिंह साउदको घर शिवनाथ गाउँपालिका –२, शर्माली पुगेर घर परिवारको अवस्था अवलोकन गरेको छ ।
प्रुमख जिल्ला अधिकारी पौडेलले सहिद दीपकका घर परिवारलाई सरकारले उपलब्ध गराएको १५ लाख रुपियाँ यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत परिवारको खातामा जम्मा गरिसकेको बताउनुभयो ।
परिवारलाई थप के कस्तो रोजगारी दिन सकिन्छ भन्ने उद्देश्यले भेटघाट गर्न घरमै गएको उहाँले बताउनुभयो । सरकारी वा व्यावसायिक संस्थानमा तत्काल रोजगारी दिने विषयमा परिवारसँग छलफल भएको उहाँले बताउनुभयो ।
भेटको क्रममा जिल्ला प्रशासन कार्यालयले जेनजी पुस्ताको आन्दोलनमा सहिद भएका दीपकसहितका सहिदको नामावली राखिएको फ्रेम आमा लक्ष्मीदेवी साउदलाई ससम्मान उपलब्ध गराउनुभयो । सहिदको नामवली भएको फ्रेम ग्रहण गर्दा भावुक हुँदै लक्ष्मीले छोराको सपना पूरा गर्न राज्यका सबै निकायलाई ध्यान दिन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले राज्यले सहिद परिवारलाई तत्काल रातह उपलब्ध गराए पनि परिवारको अवस्थाअनुसार थप रोजगारी र पेन्सन उपलब्ध गराउने निर्णय गरेको स्पष्ट पार्नुभयो । उहाँले जिल्लास्तरबाट सञ्चालन हुने कृषि, पशुपालन र अन्य आयमुलक कार्यक्रममा सहिद परिवारलाई प्राथमिकता दिइने बाउनुभयो ।
सहिद दीपकको घर परिवारलाई गाउँपालिकाबाट पनि एक लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय भएको शिवनाथ गाउँपालिका–२, का वडाध्यक्ष सुरेन्द्र साउदले बताउनुभयो । उहाँले केही दिनभित्र सहिद परिवारलाई रकम हस्तान्तरण गरिने जानकारी दिनुभयो ।