विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ९ गते । सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने ६० वर्षीया आमा ईश्वरी देवी चौधरी अहिले चिन्तामा हुनुहुन्छ । उहाँका २३ वर्षीय छोरा प्रवीण आश्रमबाट बेपत्ता भएपछि एकल महिला चौधरी अहिले चिन्तामा पर्नुभएको हो ।
जनकपुरस्थित मानव सेवा आश्रमको टोलीले गत २०८१ असार ४ गते उद्दार गरेर उपचारमा लगेको सुस्त मनस्थितिका प्रवीण ९ महिनापछि त्यहाँबाट वेपत्ता हुनुभएको हो ।
आर्थिक अभावका कारण छोराको उपचार गराउन नसकेर घर मै फलामे सिक्रीमा बाँधेर विगत ५ वर्षदेखि राख्नुभएको थियो । प्रवीणलाई बाँधेर राखिएको खबर पाएपछि पुगेको जनकपुरस्थित मानव सेवा आश्रमको टोलीले मधेश प्रदेशका तत्कालीन वन राज्यमन्त्री रञ्जु मण्डल, प्रदेश सांसद महेशप्रसाद यादव, तत्कालीन प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, इन्सेक सप्तरी प्रतिनिधी मनोहर पोखरेल तथा आश्रमका मधेश प्रदेश इन्र्चाज विवेक महतो, आश्रमका सचिव सुमन बर्ताैलाको उपस्थितिमा गत २०८१ असार ४ गते उद्दार गरेर उपचारका लागि आश्रम लगिएको थियो ।
उपचारमा रहेका प्रवीण फागुन ६ गते भागेर सम्पर्क बिहीन भएको आश्रमले शम्भुनाथ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष गोपाल चौधरीलाई खबर गरेका थिए ।
फोहर उठाउन गाडी आएको समयमा ढोका खोलिएको र सोही मौका छोपेर प्रवीण भागेको जनकपुरस्थित मानव सेवा आश्रमका सचिव सुमन वर्तौलाले बताउनुभयो ।
प्रविण भागेपछि उहाँको खोज तलासमा सहयोग गरिदिन प्रहरीका जिल्लादेखि केन्द्रसम्मका उच्च अधिकारीलाई आग्रह गरिएको उहाँको भनाइ छ ।