पाण्डवेश्वर मन्दिरको फेदीमा रहेको गँदारीको ढुङ्गे औजार सबैभन्दा पुरानो औजार मानिएको छ । त्यसको समय करिब ८० हजार वर्ष पुरानो भएको विश्वास गरिन्छ । त्यसपछिको समयका औजारमा क्रमशः कुइरेपानी, गैराखु्टी, वसन्तापुरमा प्राप्त भएका ढुङ्गे औजार त्यो युगको अन्तिम चरणका हुन् ।
इतिहासका धेरै घटनाक्रममा दाङ जिल्लाको आफ्नै विशेषता, महत्व र विरासत छ । राजनीतिक, सामाजिक, आर्थिक हिसाबले उन्नत दाङ जिल्ला संस्कृति, सम्पदा र पर्यटनमा पनि उत्तिकै महत्व राख्छ । दाङमा पाण्डवेश्वर मन्दिर धारापानीसहित सिद्धरत्ननाथ मन्दिर (चौघेरा), वराहक्षेत्र (बाह्रकुने) मन्दिर, अम्बिकेश्वरी मन्दिर, बगारबाबा मन्दिर (रिहार) लगायत धार्मिक स्थल रहेका छन् । दाङको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पाण्डवेश्वर महादेव मन्दिर पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास भएको छ । घोराही उपमहानगरपालिका–५, धारापानीस्थित पाण्डवेश्वर धार्मिक धाम ४९.५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । घोराही बजारदेखि करिब ९ किलोमिटर दक्षिणतर्फ लागेपछि चुरे पर्वत शृङ्खलाको फेदीमा रहेको प्रख्यात धार्मिक स्थल पाण्डवेश्वर पुग्न सकिन्छ ।
सरयु नदीको किनार र चुरे पर्वतको फेदीमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, जैविक र पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर ठाउँमा पाण्डवेश्वर महादेव मन्दिर रहेको छ । उत्तरमा बबई नदी (सरयु), दक्षिणमा ऐतिहासिक सुनकोट र सरिकोट, पूर्वमा बबई नदीको उद्गम स्थल र पश्चिममा चुरे पहाडको विशाल जङ्गलबिचमा प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर रहेको छ । समुद्रको सतहबाट ६३३ मिटरको उचाइमा अवस्थित मन्दिरमा नेपालका विभिन्न स्थान र भारतबाट भक्तजन आउने गर्छन् । स्वच्छ मनले मन्दिरमा पूजाअर्चना गरेमा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ । तीन सय वर्षअघि धारापानीमा भेटिएको ज्योतिर्लिङ्ग एउटै शिलामा अवस्थित छ, जहाँ विष्णुपादुका, कुण्ड, बाघका आँखा सहजै देख्न सकिन्छ । खुला आकाशमुनि रहेको ज्योतिर्लिङ्गमा विक्रम संवत् १८९७ सालदेखि पूजाआजा भएको पाइन्छ । १९९७ सालदेखि मन्दिरको सामान्य संरचना निर्माण गरिँदै २०४७ सालमा मूल मन्दिर निर्माण गरिएको र त्यसपछि सो स्थानमा विभिन्न निर्माण हुँदै आएको पाइन्छ ।
२०७२ सालमा धार्मिक तपोवनको कार्ययोजना बनाई मन्दिर क्षेत्रको विकासका लागि विभिन्न कार्य हुँदै आएको छ । पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीका अनुसार दाङमा धारापानी क्षेत्र प्रमुख धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास भएको छ । मन्दिरमा पूजापाठ, दर्शन, अवलोकनसँगै वनभोज खाने, फोटो, भिडियो खिच्ने जस्ता कार्यका लागि भक्तजन तथा पर्यटक आउने गरेका छन् । खासगरी चाडपर्व र बिदाको समयमा मन्दिर क्षेत्र भरिभराउ हुने गरेको बताइन्छ । अन्य दिनको तुलनामा चाडपर्व र बिदाको समयमा भक्तजनको भिडभाड हुने गर्छ । २०७१ सालमा विश्वकै अग्लो त्रिशूल धरमपानीमा स्थापना भएपछि सो क्षेत्रले देशव्यापी रूपमा अझ चर्चा पाएको हो । स्थानीयको सक्रियतामा सुन, चाँदी, पित्तल, तामा र फलामबाट तयार गरिएको विश्वकै अग्लो त्रिशूल स्थापना गरिएको थियो । ५५.५ फिट उचाइको पञ्चधातु त्रिशूल निर्माण गरिएपछिका दिनमा रोल्पा, प्युठान, सल्यान, रुकुम, बाँके, बर्दिया, कैलाली, सुर्खेत, अर्घाखाँची, कपिलवस्तुलगायतका जिल्लासँगै छिमेकी देश भारतबाट समेत मन्दिरमा पूजापाठ एवं दर्शनका लागि आउने क्रम बढेको छ ।
पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा मुख्य महादेव मन्दिरसँगै त्रिशूल, गायत्री मन्दिर, रामजानकी मन्दिर, गणेश मन्दिर, हनुमान मन्दिर, सूर्यनारायण मन्दिर, गङ्गावासुकी नाग मन्दिर, भगवती मन्दिर, लक्ष्मीनारायण मन्दिर, गायत्री माता मन्दिर, सूर्य स्तम्भ, कमलपोखरी, हवन कुण्ड, यज्ञ मण्डव, श्राद्धघर, वनभोज स्थल, धर्मशाला, पार्क, विशाल बोटिङसहितको ताल, सुनकोट खड्गदेवी मन्दिर, सुनकोटसम्म पुग्नका लागि चार हजार नौ सय ६४ सिँढी निर्माणाधीन अवस्थामा छ । यस्तै स्तम्भ पार्क, शिव पार्क र गुरुकुल वेद पाठशाला निर्माणाधीन रहेका छन् । सो गुरुकुल निर्माणपछि वैदिक गुरुकुल शिक्षा पद्धतिमा आधारित वेद पाठशाला सञ्चालन गर्ने तयारी रहेको बताइन्छ ।
पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार मन्दिरमा दर्शन, अवलोकनसँगै घुमघामका लागि पछिल्लो समय धेरै आन्तरिक पर्यटक धारापानी पुग्ने गरेका छन् । धार्मिक आस्थासँगै वनभोज खाने र धारापानीबाट दाङ उपत्यकाको अवलोकनका लागि धारापानी पाण्डवेश्वर धाममा पुग्ने गरेका छन् । पाण्डवेश्वर महादेव धार्मिक धाम धारापानी धार्मिक गन्तव्यका रूपमा विकास हुँदै जिल्लाको फरक पहिचान दिन सफल भएको दाबी सचिव आचार्यको छ ।
पाण्डवेश्वर धार्मिक धामको विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न गुरुयोजना बनेको छ । गुरुयोजना अनुसार पाण्डवेश्वर धार्मिक धामदेखि करिब पाँच किलोमिटर दक्षिण डाँडामाथि पर्ने सुनकोट डाँडासम्म सिँढीसँगै सुनकोट खड्गदेवी मन्दिर निर्माण भएको छ । सिमेन्टको प्रयोगबिना ढुङ्गा र काठ प्रयोग गरेर भगवतीको मन्दिर निर्माण गरिएको छ । उक्त स्थानमा पहिला स्थापित मन्दिर जीर्ण भएपछि उत्खनन गरेर मन्दिरको मौलिकता नहराउने गरी जीर्णोद्वार गर्ने काम गरिएको छ ।
सुनकोट भगवती
धारापानीदेखि भगवती मन्दिर सुनकोट पुग्नका लागि मोटरबाटो छैन । हिँडेर जाँदा करिब डेढ घण्टा हिँड्नु पर्छ । धारापानी मन्दिरबाट सिँढी निर्माण सुरु भए पनि अझै बाँकी रहेको सिँढीलाई सुनकोट भगवती मन्दिरसम्म जोड्न सके थप आकर्षण थपिने सचिव आचार्य बताउनुहुन्छ । भगवती मन्दिर पुग्नका लागि दाताबाट सहयोग जुटाएर चार हजार ९६३ सिँढी निर्माण गर्ने तयारी रहे पनि अहिलेसम्म करिब २५० जति सिँढी मात्र निर्माण गरिएको छ । एउटा सिँढी एक जनाले बनाउने उद्देश्य अनुसार बनाउने काम भइरहेको छ । सचिव आचार्यका अनुसार जनसहभागितामा स्रोत जुटाएर सिँढी निर्माणलाई अघि बढाइएको छ । अहिलेसम्म करिब २५० बढी सिँढी निर्माण भएका छन् । पाण्डवेश्वर महादेव मन्दिरदेखि सरिकोट भगवती मन्दिरसम्म सिँढी निर्माणपछि मन्दिर पुग्न सहजतासँगै थप आकर्षण बढ्ने छ ।
सुनकोट भगवती मन्दिर समुद्री सतहबाट ६३३ मिटरको उचाइमा रहेको छ । पाण्डवेश्वर क्षेत्रकै अर्को महत्वपूर्ण गन्तव्य स्थल सरिकोट हो । पाण्डवेश्वर मन्दिरबाट करिब २.५ किलोमिटर पश्चिम धर्नाको पहाडमा सरिकोट मन्दिर रहेको छ । पाण्डवेश्वर धामको शिरमा पर्ने सुनकोट खड्गदेवी भगवती मन्दिरदेखि करिब चार किलोमिटर पश्चिममा पर्ने यो स्थानसम्म पुग्न सुनकोटदेखि डाँडैडाँडा उत्तरतिर दाङको समतल फाँट र दक्षिणतिर घना जङ्गल अवलोकन गर्दै पदयात्रा गर्न सकिने छ । सरिकोट क्षेत्रमा धार्मिक र ऐतिहासिक सम्पदा रहेका छन् ।
शिव सरोवर
मन्दिरको उत्तरतर्फ करिब चार बिघा क्षेत्रफलमा जलाशय (शिव सरोवर) निर्माण गरेर बोटिङ सुरु गरिएको छ । सचिव आचार्यका अनुसार मन्दिरसम्म पुग्ने दर्शनार्थीले घुमफिरसँगै जलाशयमा डुङ्गा सयर गर्ने व्यवस्था मिलाइएको छ । धारापानीमा यी संरचना निर्माणका लागि करिब एक दशकको अवधिमा डेढ करोड बढी लगानी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
साजमा विश्वास
पाण्डवेश्वर महादेव मन्दिरभित्र साजको रुख छ । धार्मिक विश्वास अनुसार उक्त साजको रुखसँग पाण्डवेश्वर महादेवको उत्पत्तिसम्बन्धी किंवदन्ती जोडिएको छ । उक्त साजको रुख करिब तीन सय वर्ष पुरानो भएको जनविश्वास छ । दाङ उपत्यकामा तत्कालीन समयमा थारू समुदायको बसोवास बढी थियो । गुरुवागाउँका एक जना थारूले १५० वर्षपहिले साजको रुख काट्ने क्रममा शिवलिङ्ग फेला पारेको जनविश्वास रहेको छ । धारापानी वन क्षेत्रमा रुख काट्न गएका थारू समुदायले दिनभर आलोपालो गरी साजको रुख काट्दा पनि ढाल्न सकेनन् । रुख काट्न नसकेपछि उनीहरू घर फर्किए ।
भोलिपल्ट उनीहरू फेरि उक्त रुख काट्न धारापानी गए तर हिजो बन्चरोले काट्दा रूखको फेदमा लागेको चोट भोलिपल्ट केही देखिएन । त्यो देखेपछि रुख काट्न गएका थारूहरू आचश्र्यमा परे । उनीहरूले त्यहाँ देवता रहेको विश्वास गरे । वरिपरि पातपतिङ्गर पन्छाएर हेर्दा शिवलिङ्ग र जलकुण्डी फेला पारेका थिए । त्यसपछि उनीहरूले नै उक्त रुखलाई पूजा गर्न थालेको धार्मिक विश्वास पाइन्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीका अनुसार औलो उन्मूलन भएपछि यस क्षेत्रमा अन्य जातिको बसोवास बढ्दै गयो । पहाडबाट अन्य जाति दाङमा झर्न थाले । पछि अन्य समुदाय (ब्राह्मण/क्षेत्रीलगायत) ले धारापानीमा रुखमुनि शिवलिङ्गसँगै शिवपार्वतीको मूर्ति भेटाएछन् । उक्त मूर्तिमा सुरुदेखि नै पूजा हुँदै आएको थियो । पौराणिक महाभारतको भीषण युद्धपछि पाँच पाण्डव उत्तरापन्थको बाटो हुँदै स्वर्ग जाने क्रममा यस स्थानमा आएर शिवका विभिन्न आकृति बनाई पूजाअर्चना गरेको किंवदन्तीसमेत पाइन्छ । साथै पाँच पाण्डवले ज्योतिर्लिङ्ग स्थापना गरेकाले मन्दिरको नाम पाण्डवेश्वर महादेव रहन गएको भन्ने जनविश्वास पाइन्छ ।
विश्वकै अग्लो त्रिशूल
पाण्डवेश्वर महादेव मन्दिरको आकर्षणका रूपमा विश्वकै अग्लो त्रिशूल रहेको छ । ५५.५ फिट अग्लो र ४४ इन्च गोलाइ भएको त्रिशूल २०७१ साल कात्तिकमा स्थापना गरिएको थियो । त्रिशूलमा जगको भागसहित १३ हजार ३८० किलो धातु प्रयोग भएको बताइन्छ । सात हजार ७१८ किलो फलाम, २०५ किलो तामा र १० किलो काँस प्रयोग गरिएको त्रिशूलको तौल छ टन बढी रहेको छ ।
त्रिशूल निर्माणमा सुन, चाँदी, पित्तल, तामा र फलाम प्रयोग गरिएको छ । त्रिशूल स्थापना गर्दा २०७१ सालमा पनि अर्को साजको रूख ढलाउन सकिएन । त्यसैले त्रिशूलसँगै रहेको अर्को साजको रुखलाई समेत पछिल्लो समय पूजा गर्दै आइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारी बताउनुहुन्छ । पहिले दिनभर काट्दा पनि नढलेको अलौकिक साजको वृक्ष र २०७१ सालमा त्रिशूल राख्दा ढाल्न नसकेको अर्को साजको वृक्ष अहिले पनि रहेका कारण यस स्थानलाई धार्मिक तपोभूमि भएको भन्न सकिने व्यवस्थापन समितिका अध्यक्ष अधिकारी बताउनुहुन्छ । त्रिशूल स्थापनासँगै २०७५ सालदेखि नेपाली सेनाले पाण्डवेश्वर महादेव मन्दिरमा पुगेर शिवरात्रिको दिन सलामी दिने गरेको छ । शिवरात्रिका अवसरमा धारापानीमा ठुलो मेला लाग्ने गर्छ ।
१००८ वरपिपल जोडी
धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकसित धारापानीको अर्को आकर्षण हो, मन्दिर क्षेत्रमा हुर्कंदै गरेका वरपिपल जोडी । गाउँगाउँमा सडक विकास सँगै देशैभर वरपिपल चौतारा मासिँदै गएको समयमा यहाँ १००८ वरपिपल जोडी हुर्काउने योजना छ । हुर्काइँदै छ । यो एउटा धार्मिक विश्वास, पर्यावरण चिन्तन र प्रेमको प्रतीकसमेत हो ।
मन्दिर क्षेत्रमा रहेको खुला डाँडालाई पार्कका रूपमा विकास गर्दै १००८ जोडी वरपिपल रोप्ने अभियान अन्तर्गत हालसम्म करिब सात सय बढी वरपिपल हुर्किंदै गरेको मन्दिर व्यवस्थापन समिति आचार्य बताउनुहुन्छ । धार्मिक क्षेत्र भएकाले वरपिपल ओम आकारमा रोपिएका छन् । वरपिपललाई ‘ड्रोन भ्यु’ बाट हेर्दा ओम आकार देखिन्छ । वर्तमान विश्व समस्या बनेको कार्बन उत्सर्जनमा पिपलको ठुलो प्रभाव रहने भएको हुँदा बिरुवा हुर्किसकेपछि यहाँबाट प्राप्त हुने अक्सिजनले बढ्दो प्रदूषण र उच्च तापमान नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको छ ।
ऐतिहासिक पक्ष
संस्कृतिविद् प्राडा शिवकुमार सुवेदीका अनुसार पाण्डवेश्वर धार्मिक क्षेत्रको ऐतिहासिक पक्ष अत्यन्त रोचक छ । मानव संस्कृतिको प्रारम्भदेखि विकाससम्मको क्रमबद्ध ढुङ्गे औजार उक्त क्षेत्रमा प्राप्त भएका छन् । धारापानी क्षेत्रमा पाइएका औजार धेरै रहेका छन् । पाण्डवेश्वर मन्दिरको पूर्वमा कुरेपानीदेखि पश्चिममा वसन्तापुरसम्मको सीमित क्षेत्रमा ती सबै चरणका प्रमाण पाइएका छन् ।
तीमध्ये पाण्डवेश्वर मन्दिरको फेदीमा रहेको गँदारीको ढुङ्गे औजार सबैभन्दा पुरानो औजार मानिएको छ । त्यसको समय करिब ८० हजार वर्ष पुरानो भएको विश्वास गरिन्छ । त्यसपछिको समयका औजारमा क्रमशः कुइरेपानी, गैराखु्टी, वसन्तापुरमा प्राप्त भएका ढुङ्गे औजार त्यो युगको अन्तिम चरणका भएको संस्कृतिविद् डा. सुवेदी बताउनुहुन्छ । जसको इतिहास चार हजार वर्षअघिको मानिन्छ । त्यस्ताखालका औजार प्रयोगसँगै त्यस समयका मानिसले स्थायी बसोवासको प्रक्रिया तथा कृषि र पशुपालन व्यवसायको प्रारम्भ गरेको विश्वास छ ।
उहाँका अनुसार सम्भवतः यिनै ऐतिहासिक साक्षी प्रमाणका आधारमा पण्डित टेकनाथ गौतमले रनघरा नजिकैको भैसकुमालाई दाङमा राज्य व्यवस्थाको प्राम्भिक केन्द्र भनी उल्लेख गर्नुभएको थियो । तर थप प्रमाण अभावका कारण पुष्टि हुन भने नसकेको सुवेदी बताउनुहुन्छ । उहाँका अनुसार पाण्डवेश्वर क्षेत्र मानव संस्कृतिको प्रारम्भिक केन्द्रमध्येको एक महत्वपूर्ण क्षेत्र रहेको मानिन्छ । दाङको मात्र नभएर नेपालकै दुर्लभ उदाहरण मानिने धारापानी मन्दिरभित्रको मुख्य आकर्षण त्यसको शैव प्रतीक शिवलिङ्ग हो । जो एउटै विशाल चट्टानमा शास्त्रसम्मत रूपले पीठिका, शिवलिङ्ग, जलकुण्ड र पादुका निर्माण गरिएको छ ।
कसरी पुग्ने धारापानी
पाण्डवेश्वर धार्मिक धाम दाङको प्रशासनिक केन्द्र घोराहीदेखि नौ किलोमिटर दक्षिणमा अवस्थित छ । कुनै समय धारापानी पुग्न पैदल यात्रा गर्नुपर्ने अवस्था भए पनि अहिले सहजै यातायात साधनका माध्यमबाट पुग्न सकिन्छ । यातायातको सहज व्यवस्थाका लागि घोराही बजारदेखि पाण्डवेश्वर मन्दिरसम्मै पक्की सडक रहेको छ । मन्दिर पुग्नका लागि तीर्थयात्रीका लागि बजारदेखि अटोसँगै ठुला गाडी जाने गरेको छ ।