• १७ चैत २०८१, आइतबार

तिमी जाऊ अब म फर्किन्नँ (कथा)

blog

उनको मौन अनुहारले भन्दै थियो, “तिमी जाऊ... अब म फर्किन्नँ ।” मैले आँसुको भेल थाम्न सकिनँ । आँखाहरूलाई दुवै हातले छोप्दै बिस्तारै बोलेँ, “सानी तिमी अब कहिल्यै नफर्किने ठाउँमा पुगिसक्यौ । तिमीबिना यहाँ कति अड्न सकूँला र म ।”

न्यानो चुम्बनको सट्टा बलिरहेको आगो उनको मुखमा दिँदै मैले अन्तिम दर्शन गरेँ । अल्पायुमा उनी गइन् । चिता हुर... हुर... बल्दै गयो । एक झुन्ड गौँथली चितामाथि नाघ्दै पश्चिमतर्फ हुर्र उड्यो । अल्पायुभित्र अल्झिएका ती तमाम सेरोफेरोमा अवस्थित उनको लखतरान शरीर खाग हुन धेरै समय लागेन । चाँडै घर पुग्न म आत्तिँदै थिएँ, कि कतै भेट्छु कि उनलाई त्यहाँ । कानमा खुसुक्क उनले बोले झैँ लाग्यो, “यति माया पाएँ... यति पाएँ मैले, बाँच्ने रहर अझै पूरा हुन सकेको थिएन तर खोइ कस्तो भाग्य लिएर आएछु । मायाको धीत नमर्दै म मरेँ बाबा ।” अनायास आइदिएछ मुखबाट, “चुप... चुप... तिमी मरेका छैनौ सानी ।” 

यस्तै दिवास्वप्नमा झुल्दै झुल्दै म मेरो घर पुगिसकेछु । रित्तो आँगन, रित्तै घर साथै प्रत्येक चिज कति चाँडै खाली भइसकेका रहेछन् । मन उकुसमुकुस भएर आयो । ओछ्यानमा डङ्ग्रङ्ङ पसारिएँ । सिलिङ पङ्खा स्थिर भएर लड्किरहेको थियो । बत्ती गएको रहेछ, फर्की आयो । पङ्खाको चाल बढ्दै गयो । पङ्खालाई अड्याएर घुमाउँदै गरेको धुरीसँगसँगै पूर्व समययात्राको दुरीसमीप म नजिकिँदै गएँ । कता कता त्यो बेग्लै दुनियाँमा म रूपान्तरित हुँदै मैले त्यो समयलाई प्रस्ट देखेँ । मनले भन्दै थियो, “सबै चिजबिज सपनै रहेछन् तर देखेको सपना भने साँचो हो । विगतमा अवशिष्ट मधुर छापभित्रका अन्तरङ्ग स्मृतिहरू झलझली बौरिन थाले...।” 

आज अफिसबाट आउनै ढिला भयो । घामले नेटो पार गर्न थालिसकेछ । म फटाफट दुरी नाघ्दै गएँ । बाटोमा आइपर्ने मानिस पातलिँदै गएर शून्य भयो । अहिले मबाहेक अर्को कोही थिएन । चिसोले कठ्याङ्ग्रिएको बाटो मभन्दा अघि भाग्दै थियो तर माटोको बास्ना–तरङ्ग भिन्नै तवरमा महसुस गरिरहेको थिएँ । 

बाटोमुनि जोडी स्त्रीपुरुषमा मेरो दृष्टि पुग्यो । उनीहरू मस्त कुराकानी गरिरहेका देखिन्थे । मलाई लाग्यो, यी जोडी भावनाको विनिमय गरिरहेको छ । दुरी घट्दै गई दृश्य प्रस्टिँदै गयो । हिँड्ने बाटो चाहिँ धमिलो हुँदै थियो । बाटोमाथिबाट ठिक सोझै उभिएर तल हेरेँ । यहाँबाट हेर्दा कता कता युवतीको परिचित अनुहार लाग्यो । तर को हो सम्झिन सकिनँ । आ... जो होस्, भनेर म अगाडि हिँडेँ । द्रुत गतिमा हिँड्दै गएँ । उनको चिने... चिने झैँ अनुहार झलझली आँखावरिपरि आउन थाल्यो । अलि पर पुगिसकेछु । फर्कूं फर्कूं लाग्यो । यन्त्रवत् फरक्क फर्केर छिटो छिटो हिँडेर त्यही बाटोमाथि पुगेँ । यो मेरो जिज्ञासा हो कि आफ्नो आकर्षण, मैले बुझ्न सकिनँ । अगाडि र पछाडि साथै परसम्म हेरेँ । बाटो सुनसान थियो । झ्याउँ... झ्याउँ... झ्याउँकिरीको एकोहोरो लाप आउँदै जाँदै गए । 

तल झरूँ कि नझरूँ, म अलमलमा परेँ । जे पर्ला पर्ला भनी सोच्दै थोरै तल ओर्लेर एउटा चोसो भित्ताको आड लिएर हेरेँ । राम्ररी नियालेर हेर्दा मैले कहिल्यै नभेटेको अनुहार पो रहेछ । नचिनेको भए पनि त्यो अनुहार भिन्नै आकर्षणका रूपमा मन पर्‍यो । भित्र कता कताबाट आवाज सुनेँ, “मेरोनिम्ति पक्कै यी बनेकी हुन् ।” आफ्नो यो २५ वर्षको उमेरसम्म कैयौँसँग भेटघाट भए तर यस्तो विचित्र संयोगको अनौठो अनुभूति कहिल्यै भएन । आजसम्म भेटेका कतिपय परिचित अनुहारहरू मैले सम्झिन सकिनँ । मनले बोल्यो, “जहाँ... जस्तो परिस्थिति आइपरे पनि यिनीसँग मेरो जिन्दगी बित्छ ।” म आफ्नो विश्वास रोक्न नसक्ने स्थितिमा पुगिसकेको थिएँ । तल, माथि र वरिपरिका दृश्य परिदृश्य चकमन्न एवं शून्य हुँदै गइरहेको अवस्थामा उनीहरू गफिँदैको गुनगुन प्रस्टिँदै गयो । 

चोसो भित्ताको आड लिएर हेर्दै उनीहरूको संवाद सुन्ने कोसिस गरेँ । केटो अब बिस्तारै उनीनजिक पुगी ओठलाई उनको गालामा पुर्‍यायो । उसको अप्रत्याशित हर्कतले उनले जुरुक्क उठेर हकारिन्, “हुन्न... हुन्न... यति चाँडै... ?! यस्तो पारा मलाई मन पर्दैन । एकअर्कालाई अझै हामीले बुझेका र चिनेका छैनौँ । यो मेरो तिम्लाई अन्तिम चेतावनी हो...।” पर सरेर उनी थचक्क बसिन् । केटोको अनुहारमा रोष र आवेगका रेसाहरू सल्बलाइरहेका थिए । केही समय दुवै चुपचाप एकअर्कालाई नहेरीकन बसिरहे । एउटा उदासीन शून्यता छायो । यस अप्रीतिकर समय अन्तरबिच केटोले बिस्तारै उठेर भन्यो, “म जान्छु अब... सबै खत्तम... तिमी जस्तो... ।” उसको वाक्य पूरा नहुँदै उनले भनिन्, “बढी कुरा किन गर्नु पर्‍यो, त्यस्तो लाग्छ भने... खत्तम भने खत्तम... । हुन्छ, गइहाल ।” केही मत्थर भएर केटोले भन्यो, “हिँड न त सँगै जाऊँ... ।” 

“म अहिले जान्नँ, एकछिन म एक्लै बस्छु । तिमी जाऊ ।”  ऊ लुरुक्क परेर हिँड्यो । झटपट म भित्ताको गल्छेडोमा लुकिदिएँ । ऊ गएपछि म बिस्तारै तल झरेँ । 

फरक्क फर्केर मलाई अगाडि ठिङ्ग उभिएको देख्दा उनी झसङ्ग भइन् । कुनै अवाञ्छित परिणाम हुने हो कि भन्ने सोचेर मेरो मुटुको चाल वेगशील बन्यो– ढुक... ढुक.. ढुक... । म एक परीक्षाधीन विद्यार्थी जस्तै उनको अगाडि उभिइरहेको थिएँ । मैले कसैको ढोका अनुमतिबिना ढकढक्याइरहेको थिएँ । दुवैले अलिबेरसम्म एकअर्कालाई हेरिरह्यौँ । लामो सन्नाटा पन्छाउँदै शङ्काभावले उनी बोलिन्, “मैले चिनिनँ त... कतै ...।” 

“म पनि चिन्दिनँ तपाईंलाई ।”

“अनि... अँ... अँ...,” के भनूँ ? के भनूँ ? म धैर्यहीन भएँ ।  “म... म... अफिसबाट घर फर्कंदै गर्दा तपार्इंलाई यहाँ एक्लै देखेँ । यहाँ म आउनु... तपाईंलाई ठेस पु¥याउने मेरो मनसाय होइन ।” 

“हैन हैन, म डराएको छैन । अलि प्रस्ट भन्नुहोस् ।” 

“हामी दुवैले एकअर्कालाई पहिले भेटेका छैनौँ । तपाईंलाई मैले भन्न खोजेको नाटके कुरा लाग्न सक्छ ।”

“के कुरा हो र... ।” 

आफूलाई संयम साथै सन्तुलन राख्ने प्रयत्न गर्दै भनेँ, “प्रेमयाचना गर्न जानेको छैन । आजै हो मन पराएर अर्थात् मनले खाएर रुचाएको... ।”

“के... मलाई...?”

“हो... तमाम परिचित अनुहारभन्दा यो...।”

“यहाँ आएर मसँग ठट्टा... मजाक त गर्दै हुनुहुन्न ।” “अहँ पटक्कै होइन ।” उनले ट्वाल्ल एकोहोरो मतर्फ हेरिरहिन् । मैले निरन्तरता दिएँ, “यस्तो मेरो हरकत अशिष्टतापूर्ण अवश्य म मान्छु तर मैले यस समयलाई यहाँ नभनेर गुमाउन चाहन्नँ । अगाडिको भाग छाडेर टाढाको स्वप्निल कुरामा मलाई विश्वास छैन ।”

“ए... मा... कहिले न चिनेको मान्छे र एकैछिनको भेटघाटले म कसरी भर परूँ ? फेरि मैले पनि त तपाईंलाई मन पराउनु पर्‍यो नि !” मैले दीर्घ निःश्वास लिँदै भनेँ, “पक्कै हो, मलाई करबल गर्ने अधिकार छैन । मैले मेरो मन पोखेँ । बल तपाईंको कोर्टमा छ ।” मैले सोझै उनलाई हेरेँ । अनेकौँ रङ अनुहारमा आउँदै जाँदै थिए । पुनः गहिरो स्तब्धता फैलियो । जीवनको यस अल्पविराम अवस्थामा मैले आफैँलाई सोधेँ, “के म ठिक छु ?” अर्कै मोहाविष्टले म पूरै जकडिइसकेको थिएँ । 

“तपाईं कि सारै बाठो मान्छे हो कि त सारै मूर्ख मनुष्य । हा... हा...।” बल्ल उनको अनुहारमा उज्यालो देखेँ । मौका छोपिहालेँ, “हामी दु्वै उस्तै उस्तै, अँ... नचिनेको भए पनि मैले चिनेँ तपाईंलाई ।”

“हो र... मेरो बाठो मान्छे कसरी जोडिन आयौ आज मसँग । के म अब तिम्रो पोल्टामा पुग्दै छु ?” मैले बिस्तारै उनको हात आफ्नो हातमा लिएर मुस्कुराउँदै भनेँ, “तिमी मेरो म तिम्रो पोल्टामा... ।”

“कदम... कदम मिलाएर हैन र । अब मसँग भन्ने कुनै शब्द छैनन् ।”

“तिम्रा सपना बोकेका आँखाहरूलाई भन्न यति सक्छु कि म तिम्रै हुँ,” उनले आँखामा आँखा ओछ्याउँदै सुस्तरी भनिन्, “कस्तो नरम र न्यानो... गरम हात ।”

“अँ होला ।”

“हो नि ।” 

झमक्क साँझ परिसकेछ । माथि... माथि... आकाशमण्डलमा तारागणका झिलिमिली... झिलिमिली उज्ज्वल रङ पोखिँदै गएँ; जसरी हजारौँ फूल एकै पटक बगैँचामा फुल्दै... झुल्दै जान्छन् । 

अपर्झट हामी दुवैका आँखा माथि बाटोमा पुगे । ऊ त्यहीँ उभिइरहेको थियो । जहाँ अघि म थिएँ, ऊ त्यहाँ थियो । उसले हामीलाई नै हेरिरहेको रहेछ । उसले यताउता हेर्दै त्यहाँबाट करायो, “जमुना ।” उनको नाम बल्ल मलाई थाहा भयो । उनले ठुलो स्वरले बोलिन्,, “फर्केर आयौ । बेस गर्‍यौ । हेर मैले तिम्लाई बुझिसकेँ । ‘यु क्यान रन बट नट हाइड’ ।” मन्द मन्द बतासको कोमल स्पर्शसँगसँगै उनको चौडा हात मेरो काँधमा छायो । उसले त्यसरी नै माथिबाट करायो, “पछि मतर्फ फर्किने आस नगर्नू ।” उनले स्वीकृतिसूचक टाउको हल्लाउँदै भनिन्, “न म पहिले फर्केको थिएँ, न फर्किने छु... ।” एकछिन अडिएर फेरि ठुलो आवाजमा बोलिन्, “तिमी जाऊ... म फर्कन्नँ ।”