• १३ साउन २०८१, आइतबार

प्रमुखमा महिला नेतृत्व शून्य

blog

उदयपुर समाचारदाता

उदयपुर, जेठ २० गते । उदयपुरका स्थानीय तहमा प्रमुखमा एक जना पनि महिला विजयी हुन सकेनन् । यस पटक पालिका र वडाको प्रमुखमा कोही पनि महिला पर्न नसकेका हुन् । गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको उम्मेदवारी नपरेको होइन तर कोही विजयी हुन नसकेपछि स्थानीय तहको प्रमुख पदमा सबै पुरुष मात्र रहेका छन् । 

यस पटक निर्वाचनमा नगरप्रमुखमा तीन र वडाध्यक्षमा ११ जनाको उम्मेदवारी परेको थियो । यहाँ महिला कोही निर्वाचित हुन सकेनन् । उनीहरूलाई प्राप्त मत पनि कम देखिएको छ । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा ७५ वटा वडा छन् । २०७४ को स्थानीय निर्वाचनमा गाउँपालिकातर्फ उदयपुरगढी–७ मा एक जना र नगरपालिकातर्फ त्रियुगा नगरपालिका–१३ मा एक जना गरी दुई वडाध्यक्षमा महिला निर्वाचित भएका थिए । यस पटक यहाँका स्थानीय तहमा महिलाको प्रतिनिधित्व शून्य रह्यो ।

ठूूला दलबाट प्रमुख पदमा महिलालाई टिकट नदिनुले महिलाको उम्मेदवारी नै कम हुने र उम्मेदवारी पाएकोमा पनि चुनावमा सहयोग राम्रो नहुनुले पराजय बेहोर्नुपर्ने अवस्था देखिएको ओरेक उदयपुरकी संयोजक पम्पा पुरीले बताउनुभयो । दलले अझै पनि महिलाको नेतृत्वलाई स्वीकार गर्न नसकेको उहाँको ठम्याइ छ । 

“पहिले महिला प्रमुख नभए पनि आठै पालिकामा उपप्रमुख महिला थिए, यस पटक त त्यसमा पनि तीन जना पुरुष आए, कम्तीमा दुई जना वडाध्यक्ष महिला थिए, अहिले त्यो पनि शून्य भयो,” उहाँले भन्नुभयो, “राजनीतिक दल र समाजले अझै महिला नेतृत्व स्वीकार गर्न नसकेको देखिन्छ ।”

प्रमुख पदमा त्रियुगा नगरपालिकामा जनता समाजवादी पार्टीबाट मञ्जु राई, स्वतन्त्र अम्बिकाकुमारी रेग्मी, कटारी नगरपालिकामा स्वतन्त्र भीमकुमारी राउत उम्मेदवार हुनुहुन्थ्यो । दलबाट प्रमुख पदमा टिकट पाउने जिल्लाभरकै एक मात्र महिला जसपाकी राई हुनुहुन्छ । कटारीकी राउत र त्रियुगाकी रेग्मी भने दलले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारको रूपमा उठ्नुभएको हो । 

निवर्तमान महिला वडाध्यक्ष यस पटकको चुनावमा पराजित बेहोर्र्नुपरेको छ । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)बाट वडा नम्बर १३ मा चुनावी मैदानमा उत्रिएकी निवर्तमान वडाध्यक्ष पशुपति चौधरी पराजित हुनुभयो । अन्य वडाध्यक्ष उम्मेदवारमा त्रिनपा–१४ मा नेपाली कांग्रेसकी गीताकुमारी थापामगर, बेलका–४ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की सुजिता तामाङ, बेलाका–७ मा कांग्रेसकी दीपाकुमार राई, चौदण्डीगढी–७ मा गठबन्धन तर्फकी जसपाकी उर्मिला राई, कटारी–३ मा एमालेकी वीरकुमारी दनुवार, कटारी–४ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की मनुकमारी कटुवाल, कटारी–५ मा कांग्रेसकी पविता प्रधान श्रेष्ठ हुनुहुन्थ्यो । त्यस्तै रौतामाई–७ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की फूूलकुमारी आले, उदयपुरगढी–५ मा एमालेकी उर्मिलाकुमारी कार्की र उदयपुरगढी–६ मा एमालेकी सङ्गिता विश्वकर्मा हुनुहुन्थ्यो । उहाँहरू सबै पराजित हुनुभयो । लिम्चुङ्बुङ र ताप्ली गाउँपालिकामा वडाध्यक्षमा महिलाको उम्मेदवारीनै थिएन् । 

वडाहरूमा महिलाको नेतृत्व नहुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा महिला समानता र समावेशिताको व्यवहारिक पक्ष नै ओझेलमा परेको छ । महिलाको मुद्दा र संवेदनशील विषयमा सहजीकरणको नेतृत्व गर्ने पालिकाको केही उपप्रमुखमा पनि पुरुष नेतृत्व आएपछि केही जटिलता हुने चिन्ता महिलामा छ । “कतिपय महिला संवेदनशीलताका कुरा पुरुषलाई भन्न नसकिने हुँदा पुरुषले गर्ने सहजीकरणमा जटिलता आउनसक्ने देखिन्छ ।

” नेकपा माओवादी केन्द्रकी महिला नेतृ सम्झना तामाङ (योद्वा)ले भन्नुभयो, “पुरुषले महिलाको हितमा राम्रो गर्न खोज्दा खोज्दै पनि कतिपय कुराहरूले महिलाको समस्या हलमा महिलाकै नेतृत्व खोजिरहेको हुन्छ ।” यस्तो अवस्थामा समस्या समाधानको उद्देश्यले कुनै विकल्पको खोजी वा व्यवस्था हुनुपर्ने सुझाव उहाँको छ । 

उदयपुर जिल्लाको स्थानीय तहहरूका प्रमुख पदमा महिला नेतृत्व कमजोर देखिए पनि समग्र देशमा भने महिला नेतृत्वको सङ्ख्या बढेको पाइएको छ । चर्को रूपले समावेशिता र समानताको नारा घन्काउने दल र महिलाको वकालत गरेर कहिल्यै नथाक्ने सङ्घ÷संस्थाहरूले उदयपुरको यस पटकको चुनावी परिणामलाई विश्लेषण गरेर भूमिकालाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।