• ८ चैत २०८१, शुक्रबार

‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’

blog

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासहितका अन्य नेताहरु ।

काठमाडौँ, चैत ७  गते । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताउनुभएको छ ।

 गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको “गिरिजाप्रसाद र लोकतन्त्र” विषयक विचार गोष्ठीमा उहाँले भन्नुभयो, “जहिले जहिले मुलुक अप्ठ्यारोमा परेको छ, त्यसबेला नेपाली कांग्रेसले नै विभिन्न घटना क्रमको अगुवाइ गरेको छ र सफल भएको छ ।”

  उहाँले कांग्रेस कुनै दलको पछि लाग्न नहुने बताउनुभयो । कांग्रेसले आगामी रणनीति बनाएर अन्य दललाई मिलाएर अगाडि लैजान सक्नुपर्ने बताउँदै उहाँले उक्त क्षमता नेपाली कांग्रेसमा रहेको धारणा राख्नुभयो । 

सरकारमा रहेका काँग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्दा आफूहरूलाई कुनै आपत्ति नभएको बताउँदै उहाँले कांग्रेस र सरकारलाई खबरदारी गर्नु प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । 

उहाँले कृषि, हाइड्रोपावर, पर्यटन र डिजिटलाइजेशनलाई प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समृद्धि हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवम् स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला, पूर्व मन्त्री बलबहादुर केसीलगायतका कांगे्रसका नेताहरु सहभागी हुनुहुन्थ्यो ।  रासस