चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ७ गते। ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न सुरु गरिएको केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षले अर्को वार्ता समिति गठन गरेको छ। नो केबलकार पक्षले सरकारसँग उच्चस्तरीय वार्ता गर्न खगेन्द्र फेम्बो संयोजक रहेको पाँच सदस्यीय वार्ता समिति बनाएको हो।
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै नो केबलकार पक्षले सरकारी वार्ता टोली र नो केबलकार पक्षको वार्ता सहजीकरण टोलीबिच गएको सोमबार भएको सहमतिअनुसार अर्को वार्ता टोली गठन गरेको उल्लेख गरिएको छ। केबलकार विवादका विषयमा समाधान खोज्न उच्चस्तरीय वार्ता गर्ने सहमति भएको र सो अनुसार नो केबलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले अर्को वार्ता टोली गठन गरेको जनाएको छ।
केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक रहेका फेम्बो संयोजक बन्नुभएको वार्ता समिति सदस्यमा श्रीप्रसाद लिङ्खिम, सरस्वता सिङ्घक (सरु), धनराज लिम्बू र सन्तोष मेहता रहनुभएको छ। संयोजक फेम्बो, लिङ्खिम र सिङ्घक मुक्कुमलुङ ताङ्सेःप चुम्भोतर्फ तथा लिम्बू र मेहता अन्तरदलको प्रतिनिधित्व हुने गरी वार्ता समिति गठन गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको प्रक्रिया अघि बढेदेखि नै विरोध र आन्दोलन सुरु भएको हो। नो केबलकार पक्षले केबलकार खारेज गर्नुपर्ने, केबलकार निर्माणस्थल पाथीभराको काफ्लेपाटीमा स्थापना गरिएको सशस्त्र प्रहरीको सुरक्षा वेस क्याम्प फिर्ता गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनलाई निरन्तरता दिएको छ।
केबलकार निर्माणकै विषयमा विवाद बढ्दै जाँदा यसअघि नो केबलकार पक्ष र प्रहरीबिच पटक–पटक झडपसमेत भइसकेको छ। नो केबलकार पक्षले यातायात बन्दसहितका आन्दोलनका गतिविधिहरु गरिरहेको छ। पाथीभरा क्षेत्रमा चन्द्रप्रसाद ढकाल नेतृत्वको पाथीभरा दर्शन केबलकार प्रालिले केबलकार निर्माण गर्न सुरु गरेको हो।
हालसम्म सरकारद्वारा गठित गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको सरकारी वार्ता समिति र नो केबलकार पक्षबिच विभिन्न चरणमा वार्तासमेत भएको छ। यद्यपि, पटक–पटकको वार्ताले सार्थक निस्कर्ष भने निकाल्न सकेको छैन।