भक्तिविलास पोखरेल
गाईघाट, पुस ११ गते । कोशी प्रदेशकै उत्कृष्ट र नमुना बनाउने उद्देश्यले आठ वर्षअघि निर्माण सुरु भएको उदयपुरको सदरमुकाम गाईघाटस्थित ‘मदन भण्डारी सभागृह’ अझै सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्ती र तालुकदार सरकारी कार्यालयको गैरजिम्मेवारीका कारण उक्त सभागृह निर्माणको काम सम्पन्न हुन नसकेको हो । त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रङ्गशालामा निर्माणाधीन यो राष्ट्रिय गौरवको आयोजना बजेट अभाव, प्राविधिकको चरम लापर्बाही र कानुनी उल्झनका कारण अलपत्र हुँदै आएको हो । त्रियुगा नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने अवधारणा अन्तर्गत तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्ने गरी २०७४ वैशाख १० गते यसको निर्माण सुरु गरिएको थियो ।
सुरुमा २७ करोड रुपियाँको लागतमा सबै काम सक्ने गरी रविना जोशी र पवित्रा जेभीले ठेक्का लिएर काम गर्न सुरु गरेकोमा पहिलो चरणको काम नसकिँदै सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय सप्तरी राजविराजले दोस्रो चरणको ठेक्का आह्वान ग¥यो । १९ करोड ८१ लाख रुपियाँको लागत स्टिमेट भए पनि सुनकोशी कन्स्ट्रक्सनले २०८१ जेठसम्म काम सक्ने गरी २०७९ मङ्सिरमा १८ करोड दुई लाखमा उक्त भवन निर्माणको काम जिम्मा लिएको हो । दुई पटक म्याद थप गर्दा पनि दोस्रो चरणको काम पूरा हुन अझै १५ प्रतिशतभन्दा धेरै बाँकी रहेको र यस अवधिमा निर्माण कम्पनीले १४ करोड ६६ लाख १७ हजार रुपियाँभन्दा बढी रकम भुक्तानी लगिसकेको साइट इन्जिनियर श्रवणकुमार यादवले बताउनुभयो । फर्निचर कार्पेटलगायत झ्यालढोका र रङरोगनसमेतको काम पूरै बाँकी रहेको तर निर्माण कम्पनीसँग भएको सम्झौता अनुसारको काम गर्ने म्याद समाप्त भएकाले अब पुनः तेस्रो पटक म्याद थप गर्न आवश्यक रहेको इन्जिनियर यादवले बताउनुभयो ।
पहिलो चरणको ठेक्का पाएको कम्पनीले भुक्तानी र प्राविधिक विषयमा सरकारलाई दोष दिँदै उच्च अदालत विराटनगरमा मुद्दा हाल्नु र डिपिआरको कमजोरी हुनु नै आयोजना अलपत्र पर्नुका मुख्य दुई कारण रहेको बताइएको छ । मुद्दाको अन्तिम फैसला नभएसम्म काम अगाडि बढाउन कानुनी अड्चन देखिएको छ । सुरुमा २४ करोडको डिपिआर तयार पारिए पनि भवनको वास्तविक आवश्यकता र डिजाइन अनुसार त्यो बजेट अपुग देखियो । एक प्राविधिकका अनुसार भवनको पूर्ण संरचना तयार पार्न करिब एक अर्ब रुपियाँ लाग्ने भए पनि टुव्रmा टुव्रmामा ठेक्का लगाउँदा समस्या बल्झिएको हो । आयोजनाको तालुकदार अड्डा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङका प्रमुख सुरेन्द्रकुमार साहका अनुसार दोस्रो चरणको म्याद पनि सकिएको र काम पनि नसकेकाले निर्माण कम्पनीलाई जरिबाना तिराउने वा ठेक्का रद्द गर्ने विषयमा छलफल भइरहेको छ ।
उक्त सभागृह सम्पन्न गर्नका लागि अझै तेस्रो चरणको ठेक्का लगाउनुपर्ने र स्टिमेट पनि तयार भइरहेको अवस्थामा पुनः यो काम फेरि सप्तरी राजविराजले नै हेर्ने गरी माथिल्लो निकायले निर्णय गरेर आफ्नो कार्यालयमा बजेटसमेत रोक्का भइसकेकाले अब अगाडिको काम के हुन्छ आफूले भन्न नसक्ने अवस्था रहेको कार्यालय प्रमुख साहले बताउनुभयो ।