छविलाल पाण्डे
बुटवल, चैत ७ गते । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको यहि चैत ९ र १० गते बुटवलमा हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटीले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
२०७८ साल भदौ ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एसका पोलिट ब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाधिबेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशनमा होमिएको बताउनुभयो । उहाँले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरु प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताउनुभयो ।
विधान अनुसार संघीय निर्वाचन क्षेत्र नं. १ बाट जम्मा ४६ जना, २ बाट ४३ जना, ३ बाट २१, ४ बाट ११ २५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधिहरु रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तत्यमा उल्लेख गरिएको छ ।
विधान बमोजिम जम्मा प्रतिनिधिको १० प्रतिशतले हुने १३ जना प्रतिनिधिहरु जिल्ला कमिटीले मनोनित गरी दशौं अधिवेशनमा सहभागी प्रतिनिधिहरुको जम्मा संख्या १४१ जना बनाईने जनाइएको छ । अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्दसत्र हुनेछ । बुटवल-१३ स्थित साईनो पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिनुभयो ।