काठमाडाैँ, चैत ४ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौँमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने बताउनुभएको हो ।
अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरूको लगानी पूर्वाधार निर्माण,रोजगारी सिर्जना, पर्यटन प्रवर्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कोषहरूको करिब ५२ प्रतिशत भन्दा बढी रकम बैँक तथा वित्तीय संस्थाहरूमा फिक्स डिपोजिटको रूपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो, "नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायत अरू पनि कोषहरू रहेको छ । करिब ५२ प्रतिशत भन्दा बढी जुन फण्ड छ, त्यो बैँक तथा वित्तीय संस्थाहरूमा फिक्स डिपोजिटको रूपमा रहेकाेले अहिलेको परिस्थितिलाई लगानी विविधिकरणको लागि नयाँ नयाँ पोलिसीहरू पनि नयाँ नीतिहरू ल्याएका छौँ भन्नुभएको छ । जुन निकै सह्रानीय छ ।"
यसैगरी, करिब दुई खर्ब ७० अर्बको हाराहारीमा यहाँहरूको फन्ड रहेकाे जानकारी गराउँदै उहाँले एसएसएफको १ खर्ब जति रहेकाे तर हामी खासगरी रोजगारी सिर्जना, पूर्वाधार बनाउने, आम जनतालाई सर्भिस दिनेकुराको त्यत्तिकै खाँचो रहेकाे बताउनुभयाे ।
उहाँले यो फन्डको प्रयोग गर्न नसकेकाे र एउटा मेरिट बेसिसमा सर्टेन्ज प्रसेन्टेज पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्धन, हाइड्रोपावर लगायत कतिपय फन्ड सरकार मातहतका कम्पनीहरूमा सुरु भइसकेको छ तथा निजी क्षेत्रको प्रोजेक्टमा पनि लगानी गर्नुपर्ने उल्लेख गर्नुभयाे ।
अध्यक्ष ढकालले जम्मा भएका फन्डहरू विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।