अविनाश चौधरी
धनगढी, चैत ४ गते । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी नाचको रौनक छाएको छ । कैलाली, कञ्चनपुरमा बसोवास रहेको यो समुदायमा गाउँ गाउँमा होरी नाच देखाउँदै होरी मनाइरहेका छन् ।
होली पर्वको होलिका दहनपछि प्रत्येक गाउँवासीले आ–आफ्नो गाउँका भलमनसा, पध्ना, चाकर लगायतको घरमा अपराह्नतिर होरी नाचेर रमाउने चलन रहेको छ ।
होरीको समापन नहुञ्जेलसम्म हरेक दिन होरी नृत्य हुने धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका भलमनसा भज्जी रानाले बताउनुभयो । उहाँका अनुसार रानाथारू समुदायमा होरी पर्व एक महिना आठ दिनसम्म मनाइने गरिन्छ । त्यस क्रममा एक महिनासम्म जिन्दा होरी र होलिका दहनपछि मरी होरी गरेर दुई प्रकारले होरी पर्व मनाइन्छ ।
जिन्दा होरीमा राति र मरी होरीमा मौलिक भेषभूषामा सजेर अपराह्नदेखि साँझसम्म होरी नाच देखाउने चलन रहेको छ । मरी होरीको आठौं दिनमा खख्डेहरा फुटाएर पुरुषले होरी समापन गर्ने गरेको भलमनसा चौधरीले बताउनुभयो । “हामी पुरुषले खख्डेहरा फुटाएर होरीको समापन गर्ने गरे पनि महिलाले चैतको चराइँमामात्रै होरी समापन गर्छन्”, उहाँले भन्नुभयो ।
होरी नाच ढोलको तालमा महिलापुरुषले तालमा ताल मिलाएर नाच्ने एक प्रकारको मौलिक नृत्य हो । यो नाच बुढापाकादेखि लिएर अधबैसे, तन्नेरी, जवान, बालबालिका मिलेर सामूहिक रूपमा नाच्ने गरेको धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले बताउनुभयो । “यसले नयाँ पुस्तामा संस्कृति हस्तान्तरणमा सहयोग पुगेछ”, उहाँले भन्नुभयो ।
होरी नाचको रौनकले अहिले रानाथारू बस्ती होरीमय बनेको छ । वृद्धवृद्धादेखि बालबालिकासम्म यो नाचमा रमाइरहेका छन् । रानाथारु होरी माघ पूर्णिमादेखि सुरु हुने गरेको भलमनसा रानाले बताउनुभयो । फागुन पूर्णिमापछि आठ दिनसम्म मरी होरीमा रमाएर होरी पर्व समापन गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी, कैलालीमा बसोवास रहेको कठरिया थारू समुदायले पनि धुमधामसँग होरी पर्व मनाइ रहेका छन् । सो समुदायले पनि रानाथारू समुदायको जस्तै होरी नाच नाच्ने चलन रहेको छ । नृत्य गर्नेहरूले लगाउने मौलिक पहिरन भने फरक फरक हुने गरेको छ ।