गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २ गते । चैतका लागि वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार फागुन महिनाको तुलनामा अधिकांश बैङ्कले ब्याजदरलाई यथावत् राखेका छन् । नयाँ ब्याजदर अनुसार १७ वटा बैङ्कले फागुन महिनाकै ब्याजदर यथावत् राखेका छन् भने तीन बैङ्कले ब्याजदर परिवर्तन गरेका छन् ।
चैत महिनाका लागि बैङ्कहरूको व्यक्तिगततर्फको मुद्दती निक्षेपको औसत ब्याजदर ५.९५ प्रतिशत रहेको छ । फागुनमा यस्तो ब्याजदर ६.००१ प्रतिशत रहेको थियो । औसतमा बैङ्कको ब्याजदर ०.०४ बिन्दुले घटेको छ । त्यस्तै संस्थागतर्फ चैत लागि बैङ्कहरूको मुद्दती निक्षेपको ब्याजदर ४.४६ प्रतिशत विन्दुमा झरेको छ । फागुनमा यस्तो ब्याजदर ४.४९ प्रतिशत रहेको थियो ।
चैतका लागि नेपाल बैङ्क र हिमालयन बैङ्कको ब्याजदर घटेको छ भने कुमारी बैङ्कको ब्याजदर बढेको छ । नेपाल बैङ्कको ०.१ प्रतिशत विन्दुले घटेको छ भने हिमालयन बैङ्कको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.७५ प्रतिशत विन्दुले घटेको छ । कुमारीको व्यक्तिगत मुद्दती निक्षेपमा ०.१ प्रतिशतले ब्याजदर बढेको छ ।