• ३ चैत २०८१, आइतबार

गुणस्तरहीन चामल र चिउरा बेच्ने उद्योगमा सिलबन्दी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत २ गते । काठमाडौँको तारकेश्वर र नार्गाजुनका विभिन्न ठाउँमा गुणस्तरहीन चामल, चिउरा र अन्य खाद्य ब्रान्डिङ गरेर बिक्री गर्ने गोदाममा सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले खाद्य व्यवसायको गोदामको स्थलगत निरीक्षणपछि कैफियत भेटिएपछि सिलबन्दी गरेको हो ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णलाई आएको सूचनाका आधारमा सो टोलीले खाद्य गोदामको निरीक्षण गरेर खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही अगाडि बढाएको जनाइएको छ । विभागका अनुसार अनुगमनमा काठमाडौँ तारकेश्वर–९ मा रहेको देवकोटा चिउरा तथा चामल मिलको विभिन्न ब्रान्डका चामल र चिउरा बिक्री गर्ने गोदाममा सिलबन्दी गरेको छ । खाद्य अनुमतिपत्र नलिई सादा पहेँलो बोरामा ताइचिन चामल प्याकिङ गरिएको साथै अन्य फर्म वा कम्पनीको ब्रान्ड र नाममा प्याकिङ तथा बिक्रीवितरण गरेको पाइएपछि विभिन्न ब्रान्डका दुई हजार ५१६ बोरा चामल र एक हजार ४३ बोरा चिउराको गोदाममा सिलबन्दी गरिएको हो । उक्त व्यवसायको भण्डारण कक्षमा खाली बोरा, लेबलिङ र सिलिङ मेसिन तथा थकाली, नेवारी, गुडलक जस्ता पाइएकाले सो चामल तथा चिउराको गोदाममा सिलबन्दी गरिएको विभागले जनाएको छ ।

यसै गरी विभागको सो अनुगमन टोलीले काठमाडौँको नागार्जुन–७ मा रहेको हलेसी फुड्स खाद्य उद्योग प्रालिको खाद्य गोदाममा पनि सिलबन्दी गरेको छ । खाद्य अनुमतिपत्र नलिई विभिन्न ब्रान्डका चामल खरिद गरी अन्य फर्म वा कम्पनीको ब्रान्ड र नाममा प्याकिङ तथा बिक्रीवितरण गर्ने गरेको पाइएपछि सो गोदामको सिलबन्दी गरिएको जनाइएको छ । उक्त व्यवसायको गोदाममा खाली बोरा, लेबलिङ र सिलिङ मेसिनका साथै विभिन्न ब्रान्डका एक हजार ६४६ बोरा चामल पाइएकोमा सो चामल सिलबन्दी गरेको विभागले जनाएको छ । त्यसैगरी उक्त निरीक्षण अनुगमनका क्रममा काठमाडौँको नागार्जुन–४ मा रहेको गढीमाई प्याकेजिङ उद्योगमा पनि सिलबन्दी गरिएको छ । खाद्य अनुमतिपत्र नलिई विभिन्न ब्रान्डका ७७ हजार ८५० केजी चामल खरिद गरी अन्य फर्म वा कम्पनीको ब्रान्ड र नाममा प्याकिङ तथा बिक्रीवितरण गर्ने गरेको पाइएपछि उक्त उद्योगको गोदाममा सिलबन्दी गरिएको हो । 

निरीक्षण अनुगमनका क्रममा थप अनुसन्धानका लागि चार थान चामल र एक थान चिउराको नमुना सङ्कलन गरेको छ । सङ्कलित नमुना विश्लेषण परीक्षणका लागि प्रयोगशालामा पठाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले तीन वटै खाद्य व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।