• २ चैत २०८१, शनिबार

केबलकार विवाद आन्दोलनरत पक्षलाई फेरि वार्तामा बोलाइयो

blog

फाइल तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 

फुङ्लिङ, चैत १ गते। ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले फेरि आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरिएको हो। 

आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ अन्तर दलीय सङ्घर्ष समिति ताप्लेजुङका प्रतिनिधिलाई तत्काल वार्तामा आउन आग्रह गरिएको छ। 

केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो। यस अघि फागुन ९ गते र फागुन  १२ गते पनि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो। 

आन्दोलनरत समूहले भने मन्त्रिस्तरीय वार्ता समिति निर्माण गरी आधिकारिक आह्वान पत्राचार गरिनुपर्ने, पक्राउ परेकाको रिहाइ, निर्माणकार्य बन्द, पाथीभरा क्षेत्रबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता हुनुपर्ने माग यसअघि गरेका थिए। उक्त मागसँगै आन्दोलनरत पक्षले फागुन २६ गते चरणबद्धको आन्दोलन घोषणा गरेका छन्। प्रहरीले ताप्लेजुङमा १८ जनालाई मुद्दा चलाएको छ। ‘नो केबलकार’ समूहले फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रमको अन्तिम दिन ८ गते केबुलकारको निर्माण स्थल काफ्लेपाटीमा नो केबुलकार समूह र प्रहरी बिच झडप भएको थियो। 

उक्त झडपको क्रममा प्रहरी, सवारी चालक र आन्दोलनरत पक्षसहित १३ जना घाइते भएका थिए भने झडपलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास समेत प्रहार गरेका थिए। 

काफ्लेपाटीमा विरोध प्रदर्शन गरी आन्दोलनरत समूह फागुन १० गते साँझदेखि सदरमुकाम केन्द्रित भएका थिए । फागुन १० गते साँझ फुङ्लिङ बजारमा नो केबलका समूह र प्रहरीबिच झडप हुँदा  ११ प्रहरी र १२ आन्दोलनरत पक्षसहित २३ जना घाइते भएका थिए।