चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १ गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा तेह्र लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुन महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो।
पाथीभराको दर्शन गनए आएका भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम सङ्कलन भएको हो। पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार सार्वजनिक गरेको भेटी विवरणअनुसार फागुन महिनामा कुल १३ लाख तीन हजार ५०० रुपियाँ सङ्कलन भएको छ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलित उक्त भेटी रकम जिल्लास्थित विभिन्न बैङ्कमा जम्मा गरिएको छ। भेटी रकम नेपाल बैङ्क लिमिटेड, लक्ष्मी सनराइज बैङ्क र एनएमबि बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको हाङ्बाङले जानकारी दिनुभयो।
गएको माघ महिनामा भने २४ लाख एक हजार ५०० रुपियाँ भेटी रकम सङ्कलन भएको थियो। समितिले प्रत्येक महिनामा सङ्कलन तथा गणना हुने भेटी रकम सार्वजनिक गर्दै आएको छ। यता फागुन महिनामा सात हजार ४२८ जना भक्तजनले पाथीभराको दर्शन गरेका पनि समितिले जनाएको छ।