• १ चैत २०८१, शुक्रबार

प्रधानमन्त्री कप : बागमतीसँग हार्‍यो सुदूरपश्चिम

blog

काठमाडौँ, चैत १ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध सहज जित निकालेको छ । 

बुटलस्थित एक्ट्राटेक ओभल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हरायो । जितका लागि बागमतीले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ११ रनमा समेटिएको थियो । 

सुदूरपश्चिमका लागि टेक रावतले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै कप्तान नारायण जोशीले ३९, राहुल भण्डारीले २६, किरण ठगुन्नाले २१, शेर मल्लदे अविजित १४ र निश्चल क्षेत्रीले १४ रन जोड्नुभयो ।  

बलिङमा बागमतीका लागि रिजन ढकाल र सोनु देवकोटाले चार चार विकेट लिनुभयो । प्रतिस जिसीले एक विकेट झार्नुभएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ६६ रन बनाएको थियो ।

बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ७७ रन बनाउनुभयो । यस्तै आशुतोष घिरैयाले ५८, इशान पाण्डेले ३६, प्रतिस जिसी र कप्तान पृथु बास्कोटाले १५/१५, समुन सुनारले अविजित १२ र विवेक मगरले १० रन बनाउनुभयो । 

बलिङमा सुदूरपश्चिमका हमेन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले दुई दुई विकेट लिनुभयो । नारायण जोशी र राहुल भण्डारीले एक एक विकेट झार्नुभयो । प्रतियोगितामा तीन खेल सकेको बागमतीको यो पहिलो जित हो ।