एकिन्द्र तिमिल्सेना
टीकापुर, चैत १ गते । कैलालीको जानकी गाउँपालिकाका कलाकारले थोरै समयको प्रशिक्षणले उत्कृष्ट लोक चित्रकला तथा मूर्तिकला तयार गरेका छन् । सात दिनको प्रशिक्षण र अभ्यासका क्रममा बनाएका चित्रहरू हेर्दा उपलब्धीको नजिक पुगेको र थारू लोक चित्रकलाले छिट्टै लय समात्न सक्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको विश्वास छ ।
लामा भन्नुहुन्छ, ‘पहिलोपटक अष्टिम्कीमा चित्रकला बनाउन लगाइएको थियो, त्यसमा अब्बल कलाकारलाई थप सात दिनको तालिमपछि उहाँहरुले बनाएका चित्रकला आउँदो वैशाख २ गते काठमाडौँमा हुने ललितकला मेलामा प्रदर्शन गर्न योग्य भएका छन् ।’
प्रतिष्ठानकै लोककला विभागका प्रमुख प्रदीप अधिकारीका अनुसार छोटो अवधीको प्रशिक्षणबाट थालेको थारू चित्रकलाका छ वटा चित्र यसैवर्षको सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनीकाे छनोटमा परेका छन् । ‘दाङस्थित गढवा गाउँपालिका सेरामिक, रामेछापस्थित सुनापति गाउँपालिका थाङ्काको केन्द्र बनाउने गरी काम भएको छ जानकी गाउँपालिका थारू लोक चित्रकलाको केन्द्र बनाउने गरी काम गरौं,’ प्राज्ञ सदस्य अधिकारी भन्नुहुन्छ, ‘भारतमा मधुवनी, नेपालमा मैथिली लोक चित्रकलाकै स्तरमा थारू लोककला र चित्रकला पनि राष्ट्रिय र अन्तरािष्ट्रय स्तरमा प्रवर्धन गर्न सकिन्छ ।’
भौतिक विकासका साथै पहिचान जोगाउने कार्यक्रम अन्तर्गत थारू लोक चित्रकला तालिम दिएको र यसको राष्ट्रिय रूपमा प्रवर्धन गरिने गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको भनाइ छ । सबैभन्दा कम उमेरका १३ वर्षका केदिप चौधरी र ७३ वर्षका ज्येष्ठ नागरिक कालिप्रसाद चौधरी लगायतका १८ जना जना कलाकार तालिम लिएर चित्रकला बनाइरहेका छन् ।
गाउँपालिका र ललितकला प्रज्ञा प्रतिष्ठानले सहयोग गरे बिर्सिएका संस्कृतिलाई पनि चित्रमा उतार्दै जाने प्रशिक्षार्थी आरती चौधरीको विश्वास छ ।