कमल शर्मा
दैलेख, चैत १ गते । रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । भैरबी गाउँपालिका–५ को सियाला सामुदायिक वन खाल्तडामा रुख ढाल्ने क्रममा बिहान दस बजे च्यापिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सुनिल दहालले भैरवी गाउँपालिका–५ को वर्ष ४९ का तर्कबहादुर भनिने कालु शाही र वर्ष २७ को इन्द्रबहादुर शाहीको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले रुखले च्यापिएर घाइते भएका दुबै जनालाई उपचारका लागि अस्पताल लैजान ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी दिनुभयो । सडकभन्दा एक घण्टाको दुरीमा दाउरा काट्न गएको र सडकसम्म ल्याउन नपाउँदै दुबै जानको मृत्युभएको प्रहरी प्रमुखको भनाइ छ ।
घटनाको स्थलगत अनुसन्धान गर्न पुग्नुभएका प्रहरी निरीक्षक देविराम भण्डारीले रुखले च्यापेर मृत्यु भएका दुवै जनाको लाश जाँच गरी पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । उहाँले लाश जाँच गरी घटना मुचुल्का प्रतिबेदन बनाएर पोस्टमार्टम गरी आफन्तलाई बझुाउने बताउनुभयो ।
मृतक इन्द्रबहादुर शाहीको आमाको वार्षिक पुन्यतिथिका लागि सामुदायिक वनसँग पुर्जी काटेर दाउरा काट्न गएका थिए ।