• १ चैत २०८१, शुक्रबार

धनकुटामा सप्ताहव्यापी क्यान्सर सचेतना तथा परामर्श कार्यक्रम

blog

कोकिला भण्डारी

धनकुटा, चैत १ गते । नेपाल अर्वुद रोग निवारण संस्था धनकुटा शाखाको आयोजनामा धनकुटा जिल्लाभर सञ्चालित सप्ताहव्यापी क्यान्सर सचेतना तथा परामर्श कार्यक्रम एक समारोहबिच सम्पन्न भएको छ। 

फागुन २४ गतेदेखि सुरु भएको उक्त अभियान शुकबार सम्पन्न भएको हो । उक्त सम्पन्न अभियानमा माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थी, वडाका जनप्रतिनिधिहरू, आमा समूह, टोल सुधार समिति तथा विभिन्न समुदायका सदस्यहरूले लाभ लिनुभएको थियो । अभियानमा धूम्रपान, सुर्तिजन्य पदार्थका असर तथा क्यान्सर रोगसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

यसका साथै क्यान्सर पराजित महिलाहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा समेत प्रदान गरिएको नेपाल अर्वुद रोग निवारण संस्था धनकुटा शाखाका अध्यक्ष डा.लायन्स सम्पदा श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्था धनकुटा शाखाका अध्यक्ष श्रेष्ठले क्यान्सरसम्बन्धी सेवा र जानकारी दिनुभएको थियो । 

दुर्गा लक्ष्मी परोपकार संस्थाका अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल-भारत मैत्री सङ्घ (नेफा) जिल्ला शाखा र लायन्स क्लब अफ बागमती क्यान्सर केयर सेन्टरको सहआयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सरलाई पराजित गर्न सफल व्यक्ति विनिता श्रेष्ठले आफ्नो जीवन सङ्घर्षको अनुभव सुनाउँदै समयमै उपचार गरे क्यान्सर निको हुन सक्ने सन्देश प्रवाह गर्नुभएको थियो ।

नेपाल अर्वुद रोग निवारण समाजका निवर्तमान राष्ट्रिय अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ (ईश्वर)ले उद्घाटन गर्नुहुँदै अमूल्य जीवनलाई धुँवामा नउडाऔं भन्ने नारासहित धूम्रपानविरुद्धको सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले विपन्न नागरिकका लागि हाल प्रदान गर्दै आएको १ लाख रुपियाँको आर्थिक सहयोग अत्यन्त न्यून भएकाले कम्तीमा ५ लाख पुर्‍याउनुपर्ने माग राख्नुभयो । नेपालबाट दक्ष चिकित्सकहरूको विदेश पलायन रोक्न स्वास्थ्य क्षेत्रको संरचना बलियो बनाउनु आवश्यक रहेको औँल्याउदै चिकित्सकलाई नेपालमै रोक्न आकर्षक तलब र अन्य सुविधा उपलब्ध गराउनुपर्ने श्रेष्ठको सुझाव छ ।

उहाँले यस्ता सचेतनामूलक अभियानहरूले समाजमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा अझ व्यापक जनचेतना आवश्यक रहेको बताउनुभयो । यस प्रकारका सचेतनामूलक अभियानहरूले क्यान्सर निवारणमा मात्र नभई समग्र समाजमा स्वास्थ्यप्रति सचेतना फैलाउने लक्ष्य राखिएको छ ।