• १ चैत २०८१, शुक्रबार

‘हिमवत्खण्ड ऋषिमुनिको पवित्र तपोभूमि हो’

blog

डा. विजय सुब्बा

चैत १ देखि ३ गतेसम्म काठमाडौँमा ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ हुँदै छ । सात वटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोबास गर्ने नेपाली सहभागी हुँदै छन् । हिमवत्खण्ड कला सम्मिलनको तयारीमा केन्द्रित रहेर मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा. विजय सुब्बासँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी : 

  • हिमवत्खण्ड कला साहित्य सम्मिलन भनेको के हो ? 

नेपाल हिमवत्खण्डको केन्द्र स्थल र विश्वमा मानव सभ्यताको आदिभूमि हो । हिमवत्खण्ड नेपालमा सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको हो । यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको हो । हिमवत्खण्ड अन्तर्गत नै सप्तगण्डकीमा कश्यप ऋषि, पुलत्स्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा तत्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गी जस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालीदास जस्ता महान् कविहरूको जन्म भयो । यहीँ नै मुनि नामका ऋषि र किराँतहरूका ऋषि आकुनीले ख्याति कमाएको पाइन्छ । पौराणिक ग्रन्थहरूका अनुसार हिमवत्खण्ड भन्नेबित्तिकै प्राचीन ऋषिमुनिको पवित्र तपोभूमि भन्ने बुझिन्छ । हिमवत्खण्ड भनेको पूर्वदेखि पश्चिमसम्म विस्तारित हिमालय शृङ्खला समाविष्ट भूगोलको एउटा खण्ड हो । हिमवत्खण्डबारे प्राचीनकालदेखि नै विभिन्न चर्चापरिचर्चा हुँदै आएका छन् । वेदव्यासद्वारा रचित १८ पुराणमध्ये प्रमुख स्कन्दपुराण पनि हो । यस अन्तर्गत एउटा खण्डमा हिमवत्खण्डको महिमा वर्णन गरिएको छ । स्कन्दपुराणको यसै खण्डमा वर्णन गरिए अनुसार हिमालयपालित सिन्ध प्रदेशदेखि ब्रह्मपुत्रसम्म फैलिएको मानसरोवर समन्वित भूखण्ड नै हिमवत्खण्ड हो ।

  • यस सम्मिलनलाई ‘ग्रेटर नेपाल’ सँग पनि दाँजेर हेरेको पाइन्छ नि ? 

हामी ग्रेटर नेपालसँग कहीँ पनि जोडिएका छैनौँ । यहाँ सबै खाले विचार, धर्म, जातजातिका मानिस बसेका छन् । नेपाल भन्दा जति बुझिन्छ, जसरी बुझिन्छ ‘हिमवत्खण्ड’ लाई त्यसरी नै बुझे हुन्छ । हिमवत्खण्ड हिन्दु धर्मग्रन्थसँग जोडिएको पनि रहेछ । हिमवत्खण्डभित्र त ठुलो क्षेत्र छ । हिमवत्खण्ड धार्मिक ग्रन्थमा जोडिए पनि हामीलाई यसको भूगोलसँग सरोकार हो । भूगोलमा बसेका हामी नेपाली र गैरनेपालीको साझा विषय जे छ, त्यही साझा विषय मात्र हो । हामी हिमवत्खण्ड क्षेत्रभित्रका साझा विषय मात्र उठाउँछौँ । नेपालमा सबैले आआफ्नै विषय उठाउँछन् । हामीले हिमवत्खण्ड क्षेत्रभित्रका लोकसंस्कृतिको विषय उठाउन थालेका हौँ । हिमवत्खण्डभित्रको लोकपरम्परा, लोकसंस्कृति, धुन, नृत्य, कलामा हामी केन्द्रित छौँ । 

  • यस्तो सम्मिलनको परिकल्पना किन गरियो ?  

विसं २०७५ मा ‘हिमवत्खण्ड कला–साहित्य प्रतिष्ठान सम्मिलन’ गरिएको हो । हिमवत्खण्ड भनेको पश्चिममा सिन्धु नदी (सिन्धु प्रदेश पनि भनिन्छ), पश्चिममा ब्रह्मपुत्र नदी, उत्तरमा मानसरोवर क्षेत्र, पूर्वमा ल्हासा, उत्तरमा हिमालय पर्वत शृङ्खला दक्षिणमा गङ्गा नदी (गङ्गा मैदान पनि भनिन्छ) । यो हिमवत्खण्डको भूभाग हो । यसलाई हिन्दु धर्ममा सनातनी धर्म पनि भनिन्छ । त्यसमा १८ वटा महापुराण छन् । तीमध्ये सबैभन्दा ठुलो स्कन्दमहापुराण हो । स्कन्दमहापुराणको एउटा महत्वपूर्ण खण्ड हिमवत्खण्ड पनि रहेछ । हिमवत्खण्डको मध्य भागमा नेपाल छ । हिमवत्खण्डमा मानस खण्ड लेखिएको छ । मानसखण्ड (मानसरोवरसँग जोडेर नेपालको चर्चा गरिएको छ) । पशुपतिनाथ, मृगस्थली, बागमती नदी, गुह्येश्वरीको यति धेरै उच्च स्थानमा चर्चा छ । नेपालमा संस्कृतिका विद्वान् पण्डित महापण्डितले यस्तो अन्य देशका पण्डित आउँदा हामी सानो जस्तो देखाउँछौँ । हिमवत्खण्डमा नेपालको हैसियत भुइँमा बस्ने होइन । माथिको आसनमा बस्ने हैसियत रहेछ । यो सम्मिलनमा नेपालभित्र र नेपाली मूलका विदेशी नागरिक हुनुहुन्छ । हिमवत्खण्डभित्र बसेको भावना, लोकसंस्कृतिको अवस्था के छ, त्यसलाई जम्मा गरौँ भन्ने मूल उद्देश्य हो । 

  • सम्मिलनले नेपाली भाषा, साहित्य र कलालाई के फाइदा दिन्छ ?  

कला, साहित्य र संस्कृति जोड्दा नेपाली लोकसंस्कृति त्यहीँभित्र पर्छ । मान्छे भएको ठाउँमा कला, साहित्य, संस्कृति हुन्छ । त्यसैले हामी लोकसंस्कृतिको चर्चा गर्छौं । त्यो पनि मान्छेका जीवनसँग जोडिएका विषयहरूमा । यसले कला, साहित्य, संस्कृतिमा बल पुर्‍याउँछ । विभिन्न जातजातिले हाम्रो संस्कार र संस्कृतिलाई जीवित राखेका छौँ । हामीले अपनाउँदै आएका र हाम्रो व्यवहारमा भएका चलनहरू हाम्रा लोकसंस्कृतिहरू त्यहाँ कस्तो अवस्थामा छ ? त्यो हाम्रो खोजी हो । हाम्रो आफन्तको खोजी हो । बर्माको पिलोक भन्ने ठाउँमा २०/२२ वर्षका नेपाली मूलका छोरीहरू नेपाल सम्झेर रुन्छन् । बाजेहरू नै उता गएका थिए । बुवाआमालाई सम्म नेपालका बारेमा थाहा छैन । नातिनातिनाहरू नेपालको नाम त्यसरी भावुक भएर लिन्छन् । यस्ता मान्छेहरू नेपालमा ल्याउनु पर्छ भन्ने लाग्यो । धेरै नेपाली आफन्त, दिदीबहिनी भेट्न पाउने खुसीमा नेपाल आउन लालायित छन् । तीन दिन नेपाल बस्दा सबै भाषाभाषीको प्रतिनिधित्व हुने गरी विदेशी पाँच र नेपालका १० सांस्कृतिक प्रस्तुति पनि गरिन्छ । यो विविधतालाई जीवित राख्न पुस्तक, भिडियो पनि बनाउने योजना छ ।